झापा , चैत्र २८ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ ।
सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन् । कृषि तथा पशुपालनतर्फको पहिलो चरणको तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले गत वर्षदेखि नै युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको दाबी गरे । उनका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । सो शाखाका निर्देशक कटुवालले युबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गरे । उनले भने, “नयाँ परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टममा परेकाले अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसले गर्दा नक्कली परीक्षार्थी प्रवेश गर्ने अवस्था नै रहँदैन ।” दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फ पहिलो र दोस्रो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।