झापा , चैत्र २८ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने गरेर अदालतले गरेको आदेश सम्मानजनक रहेको बताए ।

अदालतको आदेश चलचित्रमा काम गर्ने हरेक श्रमजीवीको पक्षमा रहेको उनको धारणा छ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को रिलिज रोक्ने गरी केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसका कारण चलचित्र अब रिलिज हुने भएको छ । ‘चलचित्र विकास बोर्डले सबै पक्षलाई विश्लेषण गरी चलचित्र रिलिज हुन दिने निणर्य गरेको थियो । तर कसैको व्यक्तिगत हिसाबकिताबको आधारमा सयौँ श्रमजीवीले काम गरेको सिङ्गो चलचित्रलाई नै प्रदर्शन हुन नदिने नियत विरुद्ध अदालतको आदेश सम्मानजनक छ’ केसीले भने ‘यसबाट आगामी दिनको लागि पनि यस प्रकारका समस्याहरू आउँदा पेस गर्ने नजिर बनेको छ ।’ ‘प्रसाद २’ गत शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा थियो । फिल्मका निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न अदालतमा निवेदन दिएका थिए । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्ने गरी केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अन्य कानुनी बाटो अपनाउन सक्ने आदेश दिएको छ । केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न भने नसक्ने आदेश अदालतले दिएको हो

अदालतले फिल्मको प्रदर्शन नै रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नभएको बताएको छ । फिल्म शुक्रबारदेखि रिलिज हुनुपर्ने थियो । तर, केशव पाण्डेले फिल्मको प्रदर्शन रोकी पाउँ भनी उजुरी दिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुत कर्ता सुभाष थापा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्