झापा, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि निर्वाचन शुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ।
हिजोबाट सुरु भएको ५७ औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन्।
बाँकी ६० पदमा १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए। महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ जना, वस्तुगततर्फ १ सय २३ र एसोसिएट तर्फ १७ सय ६२ जना मतदाता रहेका छन्।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन्। तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावरण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिङ गर्ने जनाएका छन्।
वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार आ–आफ्ना प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन्। जिल्ला नगरतर्फका १ उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन्। त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनिषलाल प्रधान, सकुन्तलाल हिराचन प्रतिस्पर्धामा छन्।

एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ मैदानमा छन्। उम्मेदवारहरुले उद्योग व्यवसाय गर्न सहुलियतको ऋणदेखि १ खर्ब डलरको अर्थतन्त्र बनाउन महासंघले लिने रणनीतिको पैरवी गर्नेसम्मका प्रतिबद्धता जनाएका छन्। महासंघकै भिजन पेपरले अघि सारेका अवधारणा सबैजसोका चुनावी मुद्दा बनेका छन्। अतिरिक्त २२ लाख नयाँ रोजगारी, ऊर्जा विकास, पर्यटनमा नयाँ पूर्वाधार थप्ने गरी लगानी भित्र्याउनेलगायत प्रतिबद्धता उम्मेदवारहरुले उठाइरहेका छन्।

लगानी भित्र्याएर मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन निजी क्षेत्रको अग्रणी भूमिका हुन्छ। देश आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा हुन लागेकाले पनि महासंघको चुनावलाई महत्वका साथ हेरिएको छ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्