झापा , चैत्र ३० । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ ।

नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ । गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो । यो तथ्यांकले आव २०७८/७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ । नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन् । ’खाना पकाउने, पानी तताउनेलगायत काममा बढीजसो एलपीजी प्रयोग हुने हो । पछिल्लो समय यस्ता कार्यमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ । त्यही भएर एलपीजी खपत घटेको हुनसक्छ,’ निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने । कार्कीले खपतमा कमी देखिए पनि एलपीजी प्रयोगकर्ताको दायराचाहिँ फराकिलो बन्दै गएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्