रत्न बुढाथोकी,
झापा । श्राद्ध गर्न परिवारका साथ धार्मिकस्थल बराहक्षेत्र गएका एक युवकको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको हो । आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएकामध्ये झापा दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थलनजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार बेपत्ता रहेका मृतक नवीनका दाजु १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लावारी ७ का १८ वर्षीय राज गुरागाईँको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको एसपी ढकालले बताए । प्रहरीका अनुसार ती युवकहरू आफन्तको श्राद्ध गरिएको स्थानबाट नुहाउनका लागि कोशी किनारमा गएका थिए । लक्ष्मी न्यौपानेका दुई छोराहरु नबीन, रुद्र र मावलीतर्फका राज सप्तकोशी नदीमा बिहान १०ः३० बजे परिवारसहित नुहाउने क्रममा बेपत्ता भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र बराहवाहिनी सशस्त्र प्रहरी पकलीको गोताखोर टोलीले खोजतलासका क्रममा दिउँसो २ बजे नवीनको शब फेला पारेको हो । अन्य बेपत्ता दुई युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्