झापा , बैशाख ७ । दुबईमा ड्राइभरको रुपमा काम गरिरहेका पदमको जीवन क्षणभरमै परिवर्तन भएको छ ।

महजुज नामको चिट्ठाको १२४ औँ खेलमा पदमले सबै नम्बर मिलाएर २ करोड दिराम (७१ करोड नेपाली रुपैयाँ) जितेका छन् । उनी सन् २०२३ का लागि चिट्ठा जित्ने पहिलो व्यक्ति हुन् । ‘मैले अहिलेसम्म यो विश्वास गर्न सकिरहेको छैन,’ बुधबार चेक लिएर उनले भने । प्रत्येक महिना ५,७०० दिराम कमाउने पदम आवश्यकतामा परेकाहरुलाई आफूले सक्दो सहयोग गर्न सधैँ अग्रसर हुन्छन् । ‘म दृष्टिविहिनहरुलाई आफूले सक्ने जति सहयोग गर्छु । बाटोमा लठ्ठी टेकेर हिँड्ने ज्येष्ठ नागरिकको सहयोगमा पनि म सधैँ तत्पर रहन्छु । अब म उनीहरुलाई अलि धेरै सहयोग गर्न सक्ने हैसियतमा पुगेको छु ।’ पदम पछिल्लो २३ वर्षदेखि दुबईम बस्दै आएका छन् । पहिलो पटक जुन कम्पनीले उनलाई ड्राइभरको रुपमा दुबई लगेको थियो, उनी त्यही कम्पनीमा निरन्तर काम गरिरहेका छन् ।

महजुज टिकट सार्वजनिक भएदेखि नै उनले किन्दै आएका थिए । ‘पहिला यसलाई अर्कै नामले चिनिन्थ्यो । मैले त्यतिबेला केही पनि जितिनँ । तर महजुज भनेर आएपछि मैले एकपटक ३५ दिराम जितेँ र अर्कोपटक ३५० दिराम । यो त मैले कहिल्यै सपनामा पनि सोचेको थिइनँ,’ पदमले भने । पदमले भाग्यशाली नम्बर छनोट गर्न श्रीमती र छोरीको सहयोग लिएको बताए । तीनवटा छोरी र श्रीमतीले र अर्को तीनवटा आफैँले छानेको उनले बताए । उनले सधैँ यसरी नै नम्बर छान्दै आएका थिए बिजेताको नाम घोषणा हुने प्रत्येक शनिबार पदमको आँखा टिभीको स्क्रिनमा हुने गर्दथ्यो । उनले अघिल्लो हप्ताको कार्यक्रम हेर्न भने छुटाए । किनभने उनी बिदा मनाएर भर्खरै दुबई फर्किएका थिए । ‘भोलिपल्ट मलाई महजुजको प्रतिनिधिले फोन गरे । तर मैले उक्त फोनमा भनिएको कुरालाई विश्वास गरिनँ । कसैले मलाई मुर्ख बनाउन खोजेको होला जस्तो लागेको थियो,’ पदमले भने ।

उनले एप खोलेर हेरे । त्यसपछि मात्रै आफ्नो सबैभन्दा ठुलो सपना साकार भएको उनले विश्वास गरे । ‘मैले त्यहाँको फोन नम्बरमा कल गरेँ, उहाँहरुले मैले नै चिट्ठा जितेको जानकारी दिनुभयो । त्यतिबेला म उभिएको भुइँ भास्सिएको जस्तो लाग्यो,’ उनले भने । पदमले यसबारे आफ्नी श्रीमतीलाई भन्दा उनले पनि सुरुमा विश्वास गर्न सकिनन् । उनले भने, ‘मैले यसबारे सबै जानकारी र प्रमाण दिएपछि उनको खुसीको सीमा रहेन ।’ पदमले जितेको रकम श्रीमतीको उपचारका लागि खर्च गर्ने, ऋण तिर्ने र छोरीको पढाईका लागि जोगाएर राख्ने जानकारी दिए । उनी आफ्नो परिवारसँगै दुबईमा नै बस्न चाहेको इच्छा पनि व्यक्त गरे । त्यसैले केही रकम दुबईमा घर बनाउन खर्च गर्ने उनले बताए । भविष्यमा आफूले ड्राइभरको रुपमा काम गरिरहने र महजुजको टिकट किनिरहने पनि जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्