झापा, बैशाख २१ । सगरमाथा आरोहणको क्रममा रहेका आरोही अनुकुल मौसमको पर्खाइमा छन्।

मौसम प्रतिकुल नहुँदा आरोही प्रतीक्षामा रहेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार अहिले सगरमाथा आधार शिविरमा आरोही तथा आरोहणका दलहका सदस्य गरी ४०० भन्दा बढी आरोही पर्खाइमा रहेका छन् । ‘उनीहरू अहिले आधार शिविरबाट क्याम्प एक, दुई, तीनसम्म जाने र फर्किने अभ्यास गरिरहेका छन् ’, खतिवडाले भने, अझै केही दिन मौसम अनुकुल हुने सम्भावना न्यून रहेकाले आरोही अभ्यासमा नै केन्द्रित हुने छन् । ’ यो पटकको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४६७ आरोहीले अनुमति लिएका छन् । ३६८ पुरुष र ९८ महिला छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएका थिए । आधार शिविरमा रहेका संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शाखा अधिकृत तथा सम्पर्क अधिकृत सुरज अर्यालले सगरमाथा क्षेत्रको मौसम पूरै बिग्रिएको जानकारी दिए । दुई-तीन दिनदेखि निरन्तर मौसम बिग्रिएकाले तेस्रो शिविरबाट आरोहीहरु दोस्रो शिविरतर्फ फर्किन थालेका छन् । आरोहण अनुमति लिएका अधिकांश आरोही यतिबेला सगरमाथाको आधारशिविर आसपास पाल टाँगेर बसेका छन् ।

सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना
पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधि भरको निरीक्षण तथा सम्पूणर् गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो । यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि आधार शिविरमा नै सम्पर्क कार्यालय नै स्थापना गर्नु परेको पर्यटन विभागले जनाएको छ । विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वैशाख २५ देखि सुरु हुने अनुमान गरिएको सगरमाथा आरोहणलाई व्यवस्थित गर्न आरोहण अवधिभर सात जना कर्मचारी खटिने गरी सम्पर्क कार्यालय खोलिएको हो । गैरकानुनी क्रियाकलाप, आरोही समूहबीच हुने झगडा, आरोहणका क्रममा हुने ट्राफिक जाम , उद्धारमा समस्या र सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुग्ने लगायत गुनासा आउने गरेकाले त्यसलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो । ६ हजार ५०० मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीले एक सम्पर्क अधिकारी लैजानु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्