एजेन्सी । विश्व प्रसिद्ध गायक एड शिरनविरुद्ध मार्भिन गेको ‘लेट्स गेट इट अन’ शीर्षक गीतबाट ‘गिटार कोर्ड्स’को रचना, संयोजन चोरेको भन्दै मुद्दा दायर गरिएको छ ।

शिरनको सन् २०१४ मा सार्वजनिक ग्रामी अवार्ड विजेता गीत ‘थिंकिङ आउट लाउड’ शीर्षकको गीतका कोर्ड्स गेको गीतबाट चोरिएको आरोप उनीमाथि लागेको छ । गएको हप्ता शिरनले अमेरिकाको संघीय अदालतमा ‘थिंकिङ आउट लाउड’ आफू र सहयोगीले अनुभवबाट उक्त गीतको संयोजन गरेको बताएका थिए । बयानका क्रममा उनले अदालतमै गीत गाएर सुनाएका थिए । ‘लेट्स गेट इट अन’का सहसंयोजकका परिवारले शिरनविरुद्ध मुद्दा हालेको हो । शिरनमाथि प्रतिलिपि अधिकारसम्बन्धी कसुर गरेको आरोप छ । शिरनविरुद्धको मुद्दामा उक्त दुई गीतहरूको अन्तर्निहित संगीत रचनालाई मुख्य विषय बनाइएको छ । यो शिरनविरुद्धको पहिलो प्रतिलिपि अधिकारको मुद्दा भने होइन । यसअघि, उनको बहुचर्चित गीत ‘फोटोग्राफ्स’विरुद्ध ‘द एक्स फ्याटकर’का विजेता म्याट कार्डलले प्रतिलिपि अधिकार हनन गरेको भन्दै मुद्दा हालेका थिए । त्यसपछि कार्डललाई पनि गीतमा क्रेडिट दिएपछि उक्त मुद्दामा मिलापत्र भएको थियो । उनको अर्को गीत ‘शेप अफ यु’ पनि विवादमा परेको थियो ।

के हो प्रतिलिपि अधिकार ?
प्रतिलिपि अधिकार कुनै रचनाको रचयितामा रहने अधिकार हो । नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले यो अधिकार सुनिश्चित गरेको छ । साहित्य, कला, ज्ञान-विज्ञान र अरू क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत रचनामा प्रतिलिपि अधिकार हुने गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्