झापा, बैशाख २४ । उदयपुरमा संचालित प्रदेशस्तरीय उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।

हिजो भएको फाइनल खेलमा मोरङको पथरी शनिश्चरे नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरी बिर्तामोडले उपाधि जितेको हो । विजेता बिर्तामोडले १ लाख नगद र शिल्ड पाएको छ भने पथरीशनिश्चरेले ५० हजारमा चित्त बुझाएको छ ।

खेलको पूर्वाद्धमै दुई गोल गरेको बिर्तामोडले थप एक गोल उत्तराद्र्धमा गरेको हो । खेलको २१ र २६ औं मिनेटमा बिर्तामोडका तर्फबाट रजनी थोकर तामाङले दुई गोल गरेकी थिइन् भने थप एक गोल हाफटाइमपछि खेलको ५५ औं मिनेटमा मेनुका मगरले गरेकी थिइन् । फाइनल खेलमा बिर्तामोड नगरपालिकाका तर्फबाट नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वको टोली सहभागी भएको थियो । टोलीमा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी ,५ का वडाध्यक्ष रोहित प्रसाई , ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा , ७ का वडाध्यक्ष कृष्ण खरेल ,१० का वडाध्यक्ष दुर्योधन गुरुङ,नेपाली कांग्रेसमा नगर सभापति भोजराज सिटौला , रेडक्रस बिर्तामोडका निवर्तमान सभापति सजेश शिवाकोटीलगायत सहभागी रहेका थिए । सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ८ टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्