एजेन्सी । एसिया कप र विश्वकपमा भारत र पाकिस्तानको सहभागिताबारे विवाद सुल्झाउन दुबइमा एसियाली क्रिकेट परिषद र अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अधिकारीहरुको बैठक हुने भएको छ ।

यसका लागि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठी आइतबार दुबइ गएका छन् । समाचार एजेन्सी पिटीआइका अनुसार पिसीबीका अध्यक्ष नजम सेठीले बैठकमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट भारतले २०२५ को च्याम्पियन्स ट्रफी पाकिस्तानमै गएर खेल्ने ‘लिखित ग्यारेन्टी’ माग्नेछन् । लिखित ग्यारेन्टी पाएको खण्डमा मात्रै पाकिस्तान यस वर्ष अक्टोबरमा भारतमा हुने विश्वकप खेल्न भारत आउनेछ । यसबाहेक सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा सहभागी हुन भारतले पाकिस्तान जान मानेको छैन । पाकिस्तानले भारतका मात्र खेल तटस्थ स्थानमा गर्ने र अन्य सबै खेल पाकिस्तानमै गर्ने गरी हाइब्रिड मोडल प्रस्ताव गरेको छ । तर, एसीसी र भारतले यो मोडल पनि स्वीकार गरिसकेका छैनन् । तटस्थ स्थानको रुपमा युएइ प्रस्ताव गरिएको छ । सेठीले हालै पाकिस्तानका सरकारी अधिकारीहरुसँग भेटेर एसिया कप पाकिस्तानले प्रस्ताव गरेको हाइब्रिड मोडलमा नहुने अवस्थामा के गर्ने भनेर पनि सल्लाह लिएको रिपोर्टमा जनाइएको छ । स्रोतका अनुसार सेठीलाई बैठकमा कडा अडान लिन सुझाव दिइएको छ । स्रोतले भन्यो ‘सेठीले बैठकमा कि त एसीसी र बीसीसीआइले पीसीबीले प्रस्ताव गरेको हाइब्रिड मोडल मान्नुपर्ने अन्यथा पाकिस्तानले यस वर्ष एसिया कप प्रतियोगितामा भाग नलिने कुरा प्रस्टसँग भन्ने अपेक्षा गरिएको छ ।’ स्रोतका अनुसार एसिया कपको तालिका बनाउन अब कुनै ढिलाइ स्वीकार नगर्ने पक्षमा सेठी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्