एजेन्सी । आफ्नो समयमा प्रभावशाली मेक्सिकन फुटबलर एन्टोनियो कार्बाहलको निधन भएको छ।

उनको ९३ वर्षको उमेरमा निधन भएको हो । कार्बाहल ५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर हुन् । विश्व फुटबल वृत्तमा ‘ला टोटा’ उपनामले चर्चित कार्बाहल आफ्नो समयमा चर्चित गोलरक्षक हुन् । ५ फिट ११ इन्च अग्ला यी गोलरक्षकले ५ वटा विश्वकप खेलेका थिए । उनले सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए । त्यसपछि उनले सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा पनि मेक्सिकन टोलीको गोल पोष्ट सम्हालेका थिए । यसैगरी उनले सन् १९५८ मा स्विडेन, सन् १९६२ मा चिली र सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप फुटबल पनि खेलेका थिए । ५ वटा विश्वकप खेल्ने उनी पहिलो फुटबलर हुन् । उनले ५ वटा विश्वकप खेल्ने कीर्तिमान पनि ३२ वर्षसम्म आफ्नो नाममा राखेका थिए । त्यसपछि चर्चित जर्मन खेलाडी लोथर म्याथ्युजले कार्बाहलको कीर्तिमानको बराबरी गरेका थिए । सन् १९९८ मा फ्रान्समा लोथर म्याथ्युजले पाँचौँ विश्वकप खेलेका थिए । कार्बाहलले सन् १९५० देखि सन् १९६६ सम्म मेक्सिकोको राष्ट्रिय टोलीबाट ४८ खेल खेलेका थिए । उनले राष्ट्रिय टोलीबाट विश्वकपमा कुल ११ खेल खेलेका थिए । यसका अतिरिक्त कार्बाहलले विभिन्न क्लबबाट ४ सय ९ वटा व्यावसायिक फुटबल पनि खेलेका थिए । उनले व्यावसायिक फुटबलमा आफ्नो अधिकांश समय मेक्सिकन क्लब लियोनमा बिताएका थिए । मेक्सिकन क्लब लियोनबाट उनले ३ सय ६४ खेल खेलेका थिए । उनले उक्त क्लबमा आफ्नो खेल जीवनको १६ वर्ष बिताएका थिए ।

सोही क्लबको रंगशालामा बिहीबार कार्बाहलप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिने छ । क्लब लियोनले आफ्ना पूर्वखेलाडी कार्बाहलप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि रंगशालामा आउन समर्थकहरूसँग आग्रह पनि गरेको छ । ‘डन एन्टोनियो, महापुरुषहरू कहिल्यै मर्दैनन्,’ क्लब लियोनले कार्बाहलप्रति सम्मान व्यक्त गर्दै भनेको छ, ‘हामी सधैँ तिमीले देखाएको बाटोमा हिँड्ने छौँ । तिमीले हाम्रो क्लबबाट खेल्यो त्यो हाम्रा लागि ठुलो सम्मानको विषय हो ।’ कतार विश्वकपसम्म आइपुग्दा ५ वटा विश्वकप खेल्ने खेलाडीको सङ्ख्या ५ पुगेको छ । कार्बाहल र लोथर म्याथ्युजका अतिरिक्त मेक्सिकोका मिडफिल्डर आन्द्रेज ग्वार्डाडो, अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र पोर्चुगलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि ५/५ वटा विश्वकप खेलेका छन् । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनोले पनि कार्बाहलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कार्बाहलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भनेका छन्, ‘५ वटा विश्वकप खेल्ने पहिलो खेलाडी एन्टोनियो कार्बाहलको निधनबाट सिङ्गो विश्व फुटबल स्तब्धः बनेको छ । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्