बिर्तामोड, बैशाख ३० । ताप्लेजुङ जिल्ला फुटबल क्लबलाई हराउँदै आयोजक झापाको बिर्तामोडमा शनिवारदेखि सुरु तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक न्यू स्टार क्लबले ताप्लेजुङलाई २–१ गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि सानुका लिम्बू र बबिन बोहोराले गोल गरे भने ताप्लेजुङका लागि विवेक लिम्बूले सान्त्वना गोल फर्काए । खेलको १५औँ मिनेटमा आयोजकका लागि सानुका लिम्बूले सुरुवाती अग्रता दिलाएका थिए । सानुकाले एयर बललाई कन्ट्याकमा लिएर गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यसअघि बबिन बोहोराको लेफ्ट फुटेट सट ताप्लेजुङका गोलरक्षक आकाश लिम्बूले सम्झनलायक बचाउ गरेका थिए । तर, ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू अघि बढेको मौकामा बबिन बोहोराले नै ट्यापिङ गर्दै आयोजकको अग्रता दोब्बर बनाए । यसअघि पाएको पेनाल्टी प्रहारमा आयोजकका रोमन भुजेल चुकेका थिए । उनको प्रहार बाहिरिएको थियो । खेलको अन्त्यतिर ताप्लेजुङका विवेक लिम्बूले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्किने प्रयास गरे । खेलको ८४औँ मिनेटमा ताप्लेजुङले खाता खोले पनि थप गोल हुन नसक्दा पाहुना टोली पहिलो चरणमै बाहिरियो । खेलको म्यान अफ दी म्याच आयोजक क्लबका आशिष लावती घोषित भए । उनले नगद ३ हजारसहित ट्रफी पाए । उनलाई आयोजक क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बू र प्रदेश सांसद एकराज कार्कीले पुरस्कार प्रदान गरे ।

आइतबार बराह ११ सुनसरीले डिएसए भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५–५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । जेठ ६ गते फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्