झापा, बैशाख ३० । झापाको हल्दिबारी गाउँपालिकामा बिशेषज्ञ सेवासहितको हस्पिटल सञ्चालनमा आएको छ ।

हल्दिबारी गाउँपालिका वडा नम्बर २ मा मेडिहोम हस्पिटल प्रालि सञ्चालमा आएको हो ।
३ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको १५ वेड क्षमताको हस्पिटल शनिवार हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले उद्घाटन गरे । अहिलेसम्म कुनै पनि हस्पिटल नभएको हल्दिबारीमा पहिलो पटक उक्त हस्पिटल सञ्चालन भएसँगै स्थानीयहरु हर्षित भएका छन् ।
सञ्चालनमा आएको हस्पिटलमा ओपिडी, बिशेषज्ञ सेवा, गाइनो, अर्थोपेडिक, फिजिसियन, बच्चाको ल्याब, भिडियो एक्सरे, प्यासेन्ट मनिटर, इसीजी सेवा रहेको छ भने एक्सरे मेशिन आउने क्रममा रहेको जनाइएको छ । हस्पिटलमा डा. प्रवेश अधिकारीको नियमित सेवा रहने छ भने फिजिसियन डा. अमर कपुरी रहने जनाइएको छ ।
युवा ब्यवसायी कृष्ण प्रसाई, होम कार्की, पुष्करराज नेपाल, गंगा प्रसाई, सालिक पराजुली, शुक्रबहादुर दाहाल र सन्तोष श्रेष्ठले संयुक्त रुपमा सो हस्पिटल सञ्चालनमा ल्याएका हुन् । मेडिहोम हस्पिटल प्रालिका अध्यक्ष कृष्ण प्रसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष लिङ्देन, हल्दिबारी माबिका संस्थापक प्रधानाध्यापक नरेन्द्रकुमार कार्की, ओम साई पाथिभरा हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल, हल्दिबारी माबिका प्रधानाध्यापक टंक पाख्रिन, एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
स्वागत सञ्चालक गंगा प्रसाईले गरेको कार्यक्रमको सञ्चालन होम कार्कीले गरेका थिए । ३ करोडको लगानी भएको हस्पिटलको चुक्ता पुँजी ६ करोड र अधिकृत पुँजी ६० करोड रहेको सञ्चालक होम कार्कीले बताए । उनका अनुसार २०७८ फागुन २ गते कम्पनीको रुपमा दर्ता भएको हस्पिटलको नाममा १३ कठ्ठा जग्गा समेत रहेको छ । हस्पिटलमा हाल ८ जना कर्मचारी रहेका र आवश्यकता अनुसार वढाउँदै लगिने सञ्चालक सालिक पराजुलीले जानकारी दिए ।



