झापा, बैशाख ३० । नेपाल बिद्यार्थी संघले झापाको कमलमा आयोजना गरेको जिल्लाव्यापी अन्तर कलेजस्तरीय दुई दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ ।

नेविसंघ कमल गाउँसमितिले निर्माणाधिन आदिवासी रंगशालामा सञ्चालन गरेको प्रतियोगिताको फाइनलमा काँकरभिट्टा बहुमुखी क्याम्पसलाई २४ रन अन्तरले हराउँदै दमकले उपाधिमाथि कब्जा जमाएको हो । दमकले १०४ रन बनाएको थियो भने काँकरभिट्टा ८० रनमा सीमित भएको थियो ।

उपाधिसँगै दमक बहुमुखी क्याम्पसले नगद १५ हजार रुपैयाँ राशिको पुरस्कार, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता काँकरभिट्टाले १० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगिताको विजेता टिमलाई नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे । उपविजेता टिमका खेलाडीहरुलाई नेविसंघ झापाका सभापति सञ्जय निरौलाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो प्रतियोगिताको म्यान अफ दि म्याच दमक बहुमुखी क्याम्पसका सुरज न्यौपाने र म्यान अफ दि सिरिज काँकरभिट्टाका आशिक रानामगर घोषित भए । उनीहरुलाई पनि नगद पुरस्कार र मेडल प्रदान गरिएको छ ।

समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कांग्रेस प्रदेश समिति सदस्य एवं पालिका अध्यक्ष राईले युवा बिद्यार्थीहरुले राजनीतिक, सामाजिक विकृति, विसंगतिका विरुद्ध खुलेर आवाज बुलन्द गर्नुपर्ने बताए । समय परिस्थिति अनुसार राजनीतिक आस्था र विचारभन्दा माथि उठेर पनि युवा बिद्यार्थीहरुले स्थानीयस्तरदेखि राष्ट्रिय जगतमा भएका र हुन सक्ने भ्रष्टाचार, विकृतिमाथि खबरदारी गर्नुपर्ने उनको धारणा छ । अध्यक्ष राईले पालिकामा आफूले नेतृत्व गरिरहेकाले कहिँकतै कमल गाउँपालिकामा कुनै पनि किसिमका भ्रष्टाचार र अनियमितताको गन्ध आउन नहुने र आएको खण्डमा आफैलाई पनि कठघरामा उभ्याउन तयार हुन आग्रह गरे ।
नेविसंघ कमल गाउँसमितिका सभापति जितेन साम्पाङ राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले खेलकुदको माध्यमबाट नेविसंघले बिद्यार्थीहरुबीचमा बढाएको आत्मियता र मित्रताको सम्बन्ध प्रगाढ बनेर बस्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा कमल १ का वडाध्यक्ष केदार कटुवाल, नेविसंघ झापाका सभापति निरौला, जिल्ला नेता नवराज ढकाल र कमल नगर जेसीजका अध्यक्ष रिजु कार्कीले पनि शुभकामना मन्तव्य राखेका थिए । शुक्रबार शुरु भएको सो प्रतियोगिताको उद्घाटन कांग्रेस झापाका सभापति देउकुमार थेवेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्