बिर्तामोड, बैशाख ३०। नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।

शनिबार बिर्तामोडमा भएको महासंघको अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) र हिमाल खरेलले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै मुखिया सर्वसम्मत अध्यक्ष चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाले जानकारी दिए । बिर्तामोडमा भएको महासंघको दोस्रो अधिवेशनबाट मुखियाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, सचिव नरेश खरेल, सहसचिव भारती राई र कोषाध्यक्षमा शरद जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरु लोकेश अधिकारी, विगम श्रेष्ठ, विष्णु श्रेष्ठ र दिपेन्द्र कटुवाल चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खट्ने अन्य पदाधिकारी तथा सदस्यका साथै सम्बन्धित सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष मुखियाले निर्वाचन मण्डललाई धन्यवाद दिए । निर्वाचन मण्डलमा संयोजक निरौलासहित पुष्प खड्का र भूमिका सुब्बा रहेका थिए । मुखियाले आफूलाई इलामबाट झापा ल्याएर यो स्थानसम्म पुर्याउने आफ्ना स्वर्गीय दाजु काजीमान मुखियाको स्मृतिमा फोटो पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गरे ।
महासंघले साधारणसभा हुनुभन्दा अघि फोटो पत्रकारिता तालिम आयोजना गरेको थियो । पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले फोटोको माध्यमबाट समाज रुपान्तरणका लागि सन्देश दिन सकिने बताइन् ।
कार्यक्रममा प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना रोदन, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । सदस्य अमित खम्बुले स्वागत गरेको कार्यक्रम सचिव विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्