झापा, बैशाख ३१ । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी ट्वान्टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले प्रतियोगिताको एसिया छनोट आयोजनाको अधिकार आईसीसीले नेपाललाई दिएको बताए । “आईसीसीले ट्वान्टी-२० विश्वकपको एसिया छनोटको आयोजना अधिकार नेपाललाई दिएको छ । आईसीसीले नै यसको घोषणा गरोस् भनेर हामीले आधिकारिक रूपमा सार्वजनिक नगरेका हौँ,” पाठकले भने, “आईसीसीले प्रतियोगिता नोभेम्बरको पहिलो सातादेखि सुरु हुने जनाएको छ । पूर्वाधारमा सरकारले सहयोग गरे यस्ता प्रतियोगिता नेपालमा ल्याउने जिम्मा क्यानको हो र हामी ल्याउछौँ पनि ।” नेपालमा हुने छनोट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, सिंगापुर र हङकङ गरी ६ टिमको टुंगो लागिसकेको छ । बाँकी दुई टिम भने क्वालिफायरबाट छानिने छन् । ट्वान्टी-२० विश्वकपको इतिहासमै पहिलोपटक २० टिमले खेल्न लागेको प्रतियोगितामा १२ टिमको टुंगो लागिसकेको छ । बाँकी रहेका आठ टिम भने महादेशस्तरीय छनोट प्रतियोगिताबाट विश्वकपका लागि छनोट हुनेछन् । जसअनुसार एसिया, युरोप र अफ्रिकाबाट समान दुई टिम छनोट हुँदा अमेरिका र इस्ट एसिया प्यासिफिकबाट एक-एक टिम छनोट हुने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्