बिर्तामोड,जेठ ७ । यही जेठ १५ गते हुन लागेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि ९ पदमा २१ जनाले आज मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष,उपाध्यक्ष , सचिव र कोषाध्यक्षसहित ९ जनाले उम्मेदवारी दिएका हुन् ।त्यस प्यानलमा अध्यक्ष , उपाध्यक्ष , सचिव , एउटा खुल्ला सदस्य र तीन वटा महिला सदस्य कांग्रेसले पाएको छ भने राप्रपाको भागमा कोषाध्यक्ष र एउटा खुल्ला सदस्य परेको छ ।कांग्रेसका तर्फबाट अध्यक्षमा मेघराज बास्तोला , उपाध्यक्ष शैलेन्द्र सिटौला , सचिव पारस मैनाली , खुल्ला सदस्यमा आनन्द गुरुङ, महिला सदस्यमा बालादेवी खरेल , माया प्रधान खड्गी र कमला अग्रवालले उम्मेदवारी दिएका छन् भने राप्रपाको तर्फबाट कोषाध्यक्षमा शारदा रिजाल र खुल्ला सदस्यमा खगेन्द्र थापाको उम्मेदवारी परेको हो । मनोनयन दर्ताअघि आजै बिहान बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले उम्मेदवार घोषणा गरेका थिए ।

लोकतान्त्रिक –राष्ट्रवादी समूहले बिर्तामोड खानेपानीका वर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन व्यवस्थापन तथा मूल परिचालन समिति बनाएको छ । जसको सदस्यहरुमा कृष्ण हुमागाई , नवीन बिमली , खगेन्द्र मैनाली ,कुमार थापा , शंकर रिजाल , रन्जु प्याकुरेल ,लक्ष्मी आचार्य , दीपक मास्के , प्रकाश शिवाकोटी र विनोद बस्नेत रहेका छन् । त्यस्तै कांग्रेसका नगर सभापति भोजराज सिटौलाको संयोजकत्वमा ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । घोषणा सभामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी , प्रदेश सदस्य गोपाल गजमेर ,कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे , राप्रपा अध्यक्ष केशव ओझालगायतको उपस्थिति रहेको थियो । बिर्तामोड खानेपानीको निर्वाचनमा कांग्रेस र राप्रपाले गठबन्धन बनाएको यो दोस्रो पटक हो । अघिल्लो निर्वाचनमा दुवैले गठबन्धन बनाउँदा शतप्रतिशत नतिजा ल्याएका थिए ।

उता नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त गठबन्धन बनाई देवेन्द्र सिटौलालाई अध्यक्षको उम्मेदवार बनाएका छन् । स्वतन्त्र प्रगतिशील समूह नाम दिइएको त्यस प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारी दिएका हुन् ।

त्यस्तै समितिको खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ र सुनिल शिवाकोटी तथा महिला सदस्यहरुमा तारा राई, पुनम अधिकारी सुब्बा र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार सिटौलाले कांग्रेस छाडेर एमाले , माओवादी केन्द्र र जसपाको गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् । त्यस प्यानलमा एमालेले उपाध्यक्षसहित चार सदस्य पाएको छ भने माओवादीले सचिव र एक सदस्य पाएको छ । जसपाको भागमा भने कोषाध्यक्ष परेको छ ।

दुईवटा प्यानलबाहेक अन्य तीनजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा केशवकुमार श्रेष्ठ तथा खुल्ला सदस्यमा योगेश शर्मा र बलराम सिटौला(राम)ले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नयाँ वैकल्पिक शक्तिको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यस पटक बिर्तामोड खानेपानीको निर्वाचनमा उम्मेदवारी नदिएको नगर सभापति शम्भु भण्डारीले बताए । उनले पार्टी समर्थक मतदाताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गर्न अधिकार दिइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्