झापा,जेठ २० ।एसियन हाइवेको रुपमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडकको ठेक्का आव्हान भइसकेको अबस्थामा सडक विभागले सोही सडकमा मर्मतका लागि भन्दै करिव सवा करोड रकम नीतिगत भ्रष्टाचार गरेको छ ।

केही महिनापछि निर्माण हुने सडकको छेउछेउमा मर्मतका लागि राज्यको बजेट खेर फालेको भन्दै सर्वसाधारणले त्यसप्रति चासो व्यक्त गरेका छन् । काँकडभिट्टादेखि मावासम्मको सडकमा बस रोक्ने स्टेन्डमा मर्मतका लागि त्यति रकम खर्च भइरहेको हो । बिर्तामोड , चारपाने , दुर्गापुरलगायतका बसस्टेन्डमा अहिले भइरहेको मर्मतप्रति सर्वसाधारणले सडक विभाग , जिल्ला प्रशासन कार्यालयलगायतका निकायको ध्यानाकर्षण गराइसकेका छन् । तर, काम रोकिएको छैन । सडक विभागले नयाँ ठेक्काको रुपमा सो बजेट खर्च गरेको हो । ‘आगामी मंसिरदेखि चार लेनको सडक बन्ने भन्ने कुरा चलिरहेछ । तर त्यहि सडकमा भत्काएर के गरेको ?त्यो सडकमा अहिले भत्काएर फेरि कालोपत्र किन बनाउनु पर्यो ?’बिर्तामोड २ का देवी काफ्लेले सामाजिक संजालमा लेखेका छन्, ‘यहाँका सबै तहका जनप्रतिनिधिहरुले हेर्नुपर्ने होइन र ?सडक बिभागले एक्लौटी गर्दा सम्बन्धित निकायले किन नहेरेको ? यसलाई नीतिगत भ्रष्टाचारको पराकास्ठा होइन भनेर कसरी नभन्ने?’

एसियाली विकास बैंकको सहयोगमा काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक करिब ४६ अर्ब लगानीमा निर्माण हुन लागेको हो ।आयोजनाले हाल सडक विस्तारका लागि ठेक्का आह्वान गरिसकेको छ भने सरकारले गत जेठ १५ गतेको आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने निर्णय गरिसकेको छ । एसियाली विकास बैंकको सहयोगमा चार लेनको सडक विस्तार हुन समय लाग्ने भएकाले हाललाई गाडी रोक्ने ठाउँहरुमा सस्तो प्रविधिमा सडक मर्मत गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले सडक मर्मतका लागि ५–६ करोड बजेट माग भएकोमा पछि चार लेनको बन्ने भएर करिव सवा करोडमा सस्तो ठेक्का लगाएको जानकारी दिए । सर्वसाधारण जनताले बन्न लागेको चार लेनको सडकमा त्यसरी मर्मतका लागि बजेट छुट्याउँदा चासो लिनु जायज भएको उनले स्वीकारे । एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको सो सडकका लागि ठेक्का आव्हान मात्र भएको भन्दै उनले लोन एग्रिमेन्टकै प्रक्रियामा रहेकाले ठेक्का संझौता भइनसकेको बताए । ‘एसियन हाइवेको अत्यन्त महत्व छ तर , पूरा हुन समय लाग्छ ’उनले भने ,‘ एसियन हाइवे बन्नुभन्दा अगाडि नै पूर्वपश्चिम राजमार्ग नभत्कियोस् भनेर मर्मत गरेका हौं ।’ एसियन हाइवे सम्पन्न हुन केही वर्ष लाग्न सक्ने डिभिजन इन्जिनियर पौडेलले अनुमान गरे ।
काँकडभिट्टादेखि कोशी गाउँपालिकाको लौकहीसम्म कुल लम्बाई ९६ किलोमिटर रहेको छ। काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ। आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन्। यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ।

सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ। सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुने छ। आवश्यकता अनुसार सडकखण्डका विभिन्न भागमा साना पुलहरु पनि निर्माण हुने भए पनि ६ ठुला पुलहरु यसमा पर्नेछन्।
यो सडक खण्ड आयोजना कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ। यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ। यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ।

काँकडभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ। ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन्। सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ। शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ।
जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन्। सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी ७.५÷७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०÷५.५० मिटरको निर्माण गरिनेछ। यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०÷६.५० मिटरको रहेको छ। शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ। यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरेको छ। यी पुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ। जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाईको हुनेछन्।
यसैगरी, सडकखण्डमा आकाशेपुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ। सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ। १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ।
आयोजनाका अनुसार साइट क्लियर भएपछि सन् २०२३ मा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ। आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर संचालनमा आउनेछ। यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन्।

सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ। यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ। यसैगरी यस आयोजनामा वन क्षेत्रबाट चार हजार ३५३ र अन्य रोडसाइडबाट आठ हजार १९५ वटा रुख काट्नु पर्नेछ।

आयोजना सहनिर्देशक राकेश महर्जनका अनुसार सडक विस्तार कार्यका लागि ठेक्का आह्वान गरिएको छ । आयोजनाका अनुसार यो सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ । तर हालसम्म नेपाल सरकारले एसियाली विकास बैंकसंग ऋण सम्झौता गरेको छैन । यदि चालु आर्थिक वर्षभित्र सम्झौता गरे आगामी वर्षबाट काम सुरु हुने सहनिर्देशक महर्जनले जानकारी दिए । सडक निर्माण तीन वर्षमा सक्ने लक्ष्य राखिएपनि पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्