झापा , जेठ २२ । हल्दिबारी गाउँपालिका वडा नम्बर १ ले किसानलाई मकै रोप्ने मेशिन र स्प्रे ट्याङ्की वितरण गरेको छ ।

वडा अध्यक्ष देवीबहादुर थापाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १८० जना किसानलाई स्प्रे ट्याङ्की र १०० जना किसानलाई मकै रोप्ने मेसिन वितरण गरिएको हो । वडा र किसानको ५०/५० साझेदारीमा उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष थापाले जानकारी दिए । किसानहरूलाई कृषि सामाग्री वितरण गर्दै प्रमुख अतिथि मैनालीले कृषकलाई आवश्यकता अनुसार कृषि सामाग्री र अनुदान सहयोग गर्ने गरी गाउँपालिका नीति निर्माणका साथ अगाडि बढ्न लागेकोले उपलब्ध सामाग्रीको सही सदुपयोग गर्न समेत आह्वान गरे । वडा अध्यक्ष थापाले ढिलो भए पनि कृषिमा आवश्यक पर्ने स्प्रे ट्याङ्की र मकै रोप्ने औजार यो वर्ष वितरण गरिएको र आगामी वर्षदेखि किसानको आवश्यकता अनुसारका कृषि सामाग्री सर्वसुलभ तरिकाले वितरण गरिने बताए । वडाको ४ लाख ५० हजार सिलिङ र किसानहरूबाट ४ लाख ५० हजार जम्मा गरी उक्त कृषि सामाग्री खरिद गरिएको अध्यक्ष थापाको भनाई छ । कृषि औजार वितरण कार्यक्रममा गाउँ कार्यपालिका सदस्य शान्ता देवी सिवाकोटी , वडा सदस्य कुलबहादुर बान्तवा र प्रकाशकुमार कार्कीको उपस्थिति रहेको थियो । कृषि सामाग्री हस्तान्तरण कार्यक्रमको औचित्य र स्वागत वडा सदस्य प्रकाशकुमार कार्कीले गरेको कार्यक्रमको सहजीकरण वडा सचिव तुलना खत्रीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्