एजेन्सी । भारतलाई २०९ रनले हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियन बनेको छ।

लन्दनको ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा आइतबार भारतलाई हराउँदै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो। अस्ट्रेलियाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि भारत पाँचौ दिनको लन्चअघि नै खेल गुमाउन पुगेको हो।
टेस्ट च्याम्पियनसिपको फाइनल खेलको चौथो दिन भारतलाई ४४३ रनको लक्ष्य दिएर अस्ट्रेलियाले पारी अन्त्यको घोषणा गरेको थियो। चौथो दिन भारतले तीन विकेट गुमाएर १६४ रन बनाएको थियो।

पाँचौ दिनको खेलको शुरूवातमा विराट कोहली र अजिन्के राहानेले भारतलाई आश दिलाएका थिए। उनीहरूले ८६ रनको साझेदारी गरेका थिए।
स्लिपमा रहेका स्टेभन स्मिथले कोहलीको आकर्षक क्याच लिएपछि भारतको साझेदारी टुटेको थियो। कोहली ४९ रनमा आउट भए भने लगत्तै रविन्द्र जडेजा शून्यमा आउट भए। केहीबेर राहाने क्रिजमा टिकिराखे पनि भारतको पारी सम्हालिन सकेन।
अन्तिम दिनको शुरूवात १६४ रनबाट गरेको भारत थप ७० रनमै सात विकेट गुमाउनुपुग्यो। जसले गर्दा झण्डै १० वर्षपछि आईसीसी उपाधिनजिक पुगेको भारत फाइनल खेलमै सीमित बन्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा ४६९ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ट्राभिस हेड र स्टेभन स्मिथले शतक प्रहार गरेका थिए। भारतका लागि मोहम्मद सिरजले चार विकेट लिएका थिए।

भारतले पहिलो इनिङमा २९६ रन मात्रै बनाउन सक्यो। भारतका लागि अजिन्के राहानेले ८९ रन बनाएका थिए। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन, मिचेल स्टार्क, स्कट बोल्यान्ड र क्यामरन ग्रिनले दुई–दुई विकेट लिएका थिए।
त्यस्तै, दोस्रो इनिङमा अस्ट्रेलियाले २७० रन थपेर पारी अन्त्यको घोषणा गरेको थियो। भारतका लागि रविन्द्र जडेजाले तीन, मोहम्मद समी र उमेश यादवले दुई–दुई विकेट लिएका थिए।

भारतको दोस्रो इनिङ भने झन् खराब रह्यो। दोस्रो इनिङमा भारतले २३४ रन मात्रै बनाउन सक्यो। अस्ट्रेलियाका लागि नथन लायनले चार र स्कट बोल्यान्डले तीन विकेट लिए।
फाइनल खेलमा ट्राभिस हेड प्लेयर अफ द म्याच भए। उनले अस्ट्रेलियाका लािग १६३ रन बनाएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्