झापा , जेठ ३१ । युरोपका विकसित देश जर्मनले नेपाली कामदार माग गरेको छ।

जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । सम्झौताको ड्राफ्ट तयार पारेर निणर्यका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ । श्रम मन्त्रालयका सह-सचिव राजिव पोखरेलले जर्मनको डिमाण्ड अनुसार नेपाली श्रमिक पठाउन खोजिएको बताए । ‘केही हाम्रा मान्छेहरू लैजाने अनि त्यसपछि ट्रेनिङ दिने कुरा भइरहेको छ । उनीहरूले ट्रेनिङसँगै जब दिने कुरा छ,’ पोखरेलले भने ।

जर्मनले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूबीच ड्राफ्ट तयार पारिएको थियो । उक्त ड्राफ्ट कानुन र परराष्ट्र मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा रहेको सहसचिव पोखरेलले बताए । जर्मनले नेपालबाट सामान्य कामदार लैजाने र उतै काम पनि सिकाउने र जागिर पनि दिनेछ । प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपङ्क्तिमा रहेको जर्मनीसँग सम्झौता गर्ने विषयमा नेपाली अधिकारीहरू उत्साहित देखिएका छन् । जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदार सरह तलब तथा सेवा-सुविधा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजी समेत ल्याउन पाउने मन्त्रालयको विश्वास छ । खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ । युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्