बरतलाल राजवंशी,
कुमरखोद । भारतीय रुपैयाँ अहिले नेपाली बजारमा चल्न छोडेको छ ।

नेपाल राष्ट्र बैंकले वैदेशिक मुद्राको विनिमय दरमा कुनै परिवर्तन नगरेपनि नेपाली बजारमा भारतीय रुपैयाँ चल्न छोडेको हो ।

आर्थिक कारोवार गर्ने बैंक ,लघुवित्त , सहकारीलगायतका वित्तीय संस्थाहरुले भारतीय रुपैयाँ नलिएपछि समस्या देखिएको हो । आर्थिक कारोवार गर्ने वित्तीय संस्थाहरुले नै भारतीय रुपैयाँ नलिएपछि व्यापारीहरुले समेत भारतीय रुपैयाँ लिन मान्दैनन् । झापा गाउँपालिका –३ कामाटोलीका एक हार्डवेयर पसल संचालकले भने ‘हामीले भारतीय रुपैयाँ लिएर के गर्नु हामीले साहुलाई बैंकमार्फत वा अनलाईनबाट भुक्तानी गर्नु पर्ने हुन्छ ।’ आर्थिक कारोवार गर्ने संस्थाले भारतीय रुपैयाँ लिन नमानेपछि आफूहरुले पनि नलिएको उनले बताए । अहिले भारतीय रुपैयाँ अधिकांश व्यापारीहरुले लिन चाहदैनन् । भारतीय रुपैयाँ साट्न खोज्दा नमान्ने व्यापारीहरुले सामान खरिद गर्दा समेत कम रेटमा लिईरहेका छन् । भारतीय रकम अहिले नेपाली बजारमा रु १०० को १५०, रु २०० को ३०० र रु ५०० को ७५० मा खुल्लेआम कारोवार भईरहेको देखिएको छ ।

खुल्ला सीमानाका कारण भारत र नेपालका सीमावर्ती बजारहरुमा भारतीय र नेपाली रुपैयाँको कारोवार सहज तरिकाले चलिरहेको थियो । तर, आजकल भारतीय सीमावर्ती बजारमा नेपाली रुपैयाँको धेरै नै माग बढेको देखिन्छ । भारतीय व्यापारीहरु नै नेपाली रुपैयाँ दिन अनुरोध गर्छन् । भारतीय बजार दिघलबैंक गएका झापा गाउँपालिका– २ का शान्ति सुब्बाले नेपाली रुपैयाँ १ हजारको भारतीय बजारमा सामान खरिद गर्दा आफूलाई ६ सय चालिस रुपैयाँ दिएको बताए । त्यसैगरी गौरीगञ्ज गाउँपालिका– २ का सन्तोष राजवंशीले आफूले नेपाली रुपैयाँ लिएर भारतको दिघलबैंक बजारमा सामान खरिद गर्न जाँदा १ हजार रुपैयाँको ६ सय पैतालिस भारतीय रुपैयाँ दिएको र सामान पनि सस्तो दाममा खरिद गरेको बताए ।

भारत किसनगंजबाट नेपाल घुम्न आएका मदन सिंहले भारतीय रुपैयाँ बोकेर सुरुङ्गाको पेट्रोल पम्पमा तेल हाल्न खोज्दा भारतीय रुपैयाँ नलिएपछि आफूलाई समस्या भएको बताए । उनले बाध्य भएर बोतलमा हालेको पेट्रोल प्रयोग गरेको सुनाए । उनले आफूसँग भएको भारतीय रुपैयाँ होटलमा खाना खाँदा कम रेटमा लिएको गुनासो समेत गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्