झापा, असार २८ । झापाको बिर्तामोड– ३ स्थित प्रहरी चौकी बिर्ताबजारमा दुई वर्षमा चारजना इन्चार्ज सरुवा भएका छन् ।

प्रहरी चौकी इन्चार्जको सरुवाले प्रहरीहरुले टिकेर काम गर्ने वातावरण नभएको स्थानीयले गुनासो गरेका छन् । पहिला सो चौकी अस्थायी रहेको थियो । २०७५ सालमा स्थायी भएपछि प्रहरी सहायक निरीक्षक जानुका चौहानले २०७५ पुष २३ देखि २०७८ असार १८ गतेसम्म करिव अढाई वर्ष टिकेर काम गरिन् ।त्यसपछि आएका प्रहरी सहायक निरीक्षकहरुले टिकेर काम गर्न सकेका छैनन् । जानुका चौहानपछि प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाले २०७८ असार १८ देखि २०७९ असार ३१ सम्म करिव एक वर्ष इन्चार्ज भएर काम गरे । त्यसपछि आएका प्रविण खड्का पाँच महिनामै सरुवा भएर गए । २०७९ असार ३१ मा आएका खड्का २०७९ मंसिर २६ मा सरुवा भए । त्यसपछि आएका अर्जुन कार्की पनि पाँचै महिनामा सरुवा भएर अन्यत्र गएका छन् । प्रहरी सहायक निरीक्षक अर्जुन कार्की सरुवा भएर प्रदेश कार्यालय गएपछि उनको ठाउँमा हिजोदेखि टिकाराम कार्की आएका छन् ।

छोटो समयमै प्रहरी इन्चार्जको सरुवाले प्रहरी चौकीमा व्यवस्थित रुपमा काम गर्न गराउन नसकिरहेको प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष विरन कोइरालाले बताए । उनले त्यसतर्फ सोचिदिन माथिल्लो निकायलाई आग्रह गरे । झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले विविध कारणले प्रहरीको सरुवा हुने गरेको बताउँदै प्रहरी चौकी बिर्ताबजारको इन्चार्ज सरुवाको गुनासोप्रति आफू गंभीर बनेको प्रतिक्रिया दिए ।

प्रहरी चौकी बिर्ताबजारमा १५ जनाको दरबन्दी रहेकोमा ७ जना मात्र कार्यरत रहेको व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले बताए । इलाका प्रहरी कार्यालय अनारमनीभन्दा अगाडि प्रहरी चौकी बिर्ताबजार स्थापना भएको हो । पहिला बिर्तामोड नगरपालिका अगाडि रहेको प्रहरी चौकी केही वर्षदेखि पुण्डरी चौकमा आफ्नै भवनबाट संचालन भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्