मेचीनगर, असार २८ । शाहीकालमा मेचीनर नगरपालिकाका मेयर रहेका कल्याण खड्काले कर अधिकृत चक्रपाणी खनाललाई कुटेका छन् ।

पूर्व मेयर खड्काले बिहीवार दिउँसो साढे ४ बजे मेचीनगर नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् ।

खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला ‘मेरो चेक किन नबनाईदिएको’ भन्दै एक्कासी छातीमा समाएर आफूलाई धकेलेको खनालले बताए । खनाललाई धकेलेको स्वीकार गर्दै निर्माण व्यवसायी खड्काले भने ‘वडा नम्बर ५ को कार्यालयको काम सकेको एक महिना भयो, एक हप्तादेखि चेकका लागि ताकेता गरे । १६ लाख भुक्तानी पाउनु थियो । अझै चेक नबनाएका कारण आक्रोशमा धकेलेको हुँ ।’

यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई र कोशी प्रदेश समितिले साँझ एक विज्ञप्ति निकालेर कर्मचारीलाई हातपात गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नगरपालिकाको तोकिएको काम, कर्तव्य र जिम्मेवारी निर्वाह गरिरहेको बेला गालीगलौज, अमानवीय व्यवहार गर्ने क्रियाकलापबाट कर्मचारीबाट नियमित सेवा प्रवाह गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गालीगलौज र अमानवीय व्यवहार गर्ने मेचीनगर–१० निवासी खड्कामाथि कडाभन्दा कारवाही गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको छ । साथै कर्मचारीलाई काम गर्न सहज वातावरण बनाइदिन सम्पूर्ण नगरवासी र जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्