भद्रपुर, असार २९ । नेपाल परिवार नियोजन संघ झापाको सभापति पदका लागि लोकनाथ भट्टराई बुइँपाली र गणेश पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

भट्टराई वर्तमान कार्यसमितिका अध्यक्ष र पोखरेल सचिव हुन् । दुवैले भोलि हुने निर्वाचन जित्ने दावी गरेका छन् ।
संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेका छन् । उनीहरुले नै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।केही वर्षअघिसम्म परिवार नियोजन संघ झापामा प्रजातान्त्रिक शक्तिको वर्चस्व रहेको थियो । तर,अघिल्लो कार्यकाल प्रगतिशील पक्षका लोकनाथ भट्टराई बुइँपालीले निर्वाचन जितेपछि प्रजातान्त्रिकका पक्षको वर्चस्व तोडिएको थियो ।

यसपटकका भट्टराई र पोखरेल दुवै उम्मेदवार प्रगतिशील विचारका हुन् । वैचारिक मतसंगै ती दुवैलाई प्रजातान्त्रिक पक्षका मतदाताको समेत समर्थन रहेकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको हो । ७७५ मतदातामध्ये सबैभन्दा बढी भद्रपुरमा ३३३ मतदाता छन् । त्यस्तै बिर्तामोडमा १०८ , अर्जुनधारामा ७९ , बुद्धशान्तिमा ३९,मेचीनगरमा ४७ ,कन्काईमा ४३ , दमकमा २० , कचनकवलमा ७ , बाह्रदशीमा ९ , झापा गाउँपालिकामा ४ जना मतदाता रहेका छन् । निर्वाचनमा भद्रपुरका मतदाताको मत निर्णायक हुने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्