झापा , साउन १ । विराटनगर महानगरपालिकाले भारतबाट खरिद गरेर ल्याइएका सबै सामानको भन्सार महसुल अनिवार्य बुझाउनुपर्ने नियम आजदेखि लागू गरेको छ ।

भारतीय बजार जोगवनीबाट आयात गरिएका सबै सामानमा महानगरले भन्सार अनिवार्य गरेको हो । किनमेलका लागि भारतीय बजार जोगवनी जान कडाइ गर्ने विषयमा केही दिनयता माइकिङ तथा प्रचार गर्ने कामलाई जारी राखिएको थियो । त्यसका लागि विराटनगर महानगर, विराटनगर भन्सार कार्यालय, प्रहरीसमेतका निकाय सक्रिय थिए । यसअघि घरायसी प्रयोजनका लागि थोरै परिणाममा ल्याइने सामानमा भन्सार महसुल लिने गरिएको थिएन । व्यापारिक प्रयोजनका सामानमा मात्रै भन्सार शुल्क लिने गरिएको थियो । थोरै परिणामको मरमसला, ५ किलोसम्म चिनी, ५० किलोसम्म चामल, केही पिस कपडालगायत घरसायी प्रयोजनका लागि ल्याउने गरिएका सामान नेपाली उपभोक्ताले भारतबाट भन्सार नतिरिकन ल्याउन पाउँथे । व्यवहारिक समस्या हेरेर थोरै परिणामको सामानमा भन्सार छुट दिने गरिएको थियो ।

नेपालमा भन्दा भारतमा सामान सस्तो पाइने भन्दै घरायसी प्रयोजनका लागि भनेर सीमा पारिको जोगवनी बजारमा किनमेलका लागि जाने नेपालीको घुइँचो लाग्ने गरेको थियो । सीमा वारिको विराटनगरलगायतका बजार भने सुनसान हुन्थे । नेपाली बजारको व्यापार खस्किएको थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भारतीय बजारमा खरिद गरिएका मालसामान भन्सार पास गरेर मात्रै नेपाल भित्र्याउन भन्सार नाकामा कडाइ गरिएको जानकारी दिए । घरयासी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वेदशी बजार प्रभावित बनेसँगै सीमा नाकामा कडाइ गरिएको उनको भनाइ छ । स्थानीय बजार प्रवद्र्धनका लागि उचित कदम चाल्नुपर्ने अवस्था आएको कोइराला बताउँछन् । अब उपभोक्ताले खरिद गरेर ल्याउने सबै सामानमा भन्सार महसुल अनिवार्य गरिएको उनी बताउँछन् । ‘जति परिणामको सामान भएपनि अब भन्सार नतिरिकन ल्याउन पाइने छैन,’ उनले भने, ‘जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न महानगरबासीलाई अपिलसमेत गरिएको छ ।’ ‘विराटनगरबासीहरु सस्तो सामान पाइन्छ भनेर जोगवनी गएको देखिन्छ । अब जोगवनी जाने काम बन्द गरिदिनुहोस् । विराटनगरकै व्यापारीलाई सहयोग गरौँ,’ उनले भने । जोगवनीमा गएर सामान किनेर विराटनगरका व्यापारीलाई प्रवद्र्धन नगर्ने र विराटनगरको बजार सुकाउने गरी कार्य भए राम्रो नहुने कोइराला बताउँछन् । अब बिना भन्सारका सामान विराटनगर भित्रिन नदिने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्