एजेन्सी । फिफा महिला विश्वकप सुरु हुन केही घण्टामात्र बाँकी रहँदा पहिलो खेल हुने न्युजिल्यान्डको अकल्यान्डमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ ।

न्युजिल्यान्डको स्थानीय समयअनुसार ७ः२२ बजे बन्दुक चल्दा प्रहरीसमेत गरी अन्य ६ जना घाइते भएको बीबीसीले खुलाएको छ । अकल्यान्डस्थित सेन्ट्रल बिजनेस डिस्ट्रिकमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको छ । गोली चले पनि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले घटना कुनै आतंकवादी गतिविधिसँग सम्बन्धित नभएको स्पष्टीकरण दिएका छन् । यस्तै, घटनाबारे हालसम्म कुनै पनि राजनीतिक वा अन्य उदेश्य रहेको सार्वजनिक भएको छैन । प्रधानमन्त्री हिप्किन्सले घटनालगत्तै प्रहरीले परिस्थिति नियन्त्रणमा लिइसकेको र कुनै जोखिम नरहेको बताए । “यस्ताखाले घटनाहरू निकै छिटो हुन्छन् । तर, घटनालाई नियन्त्रणमा लिन आफ्नो ज्यान जोखिममा राखेर अरुको जीवन बचाउनेहरू नायकभन्दा कम छैनन्,” प्रधानमन्त्री हिप्किन्सले भने । अकल्यान्डका मेयर वाइन ब्रोनले फिफाका अधिकारीहरू र सबै टिमहरूका अफिसियलहरू सुरक्षित छन् । विश्वकपको पहिलो खेल अकल्यान्डस्थित इडेन पार्कमा मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुँदै छ । विश्वकपको पहिलो खेलमा सह-आयोजक रहेको न्युजिल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । आजदेखि सुरु हुने विश्वकप न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्तरूपमा आयोजना गर्दै छन् । न्युजिल्यान्डमा उद्घाटन हुने विश्वकप अस्ट्रेलियामा अगस्ट २० मा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्