बिर्तामोड,साउन ६ । कार्वाहीमा परेका बिर्तामोड ५ का यसअघिका वडा सचिव विमल पोखरेलले नगरपालिकामा लिखित स्पष्टीकरण बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई संबोधन गरी लेखिएको स्पष्टीकरण पत्रमा आफूबाट गल्ती कमजोरी भएको स्वीकार गर्दै आत्मालोचना गरेका छन् । यस्तो कार्यहरुलाई आगामी दिनहरुमा हुन नदिई निर्धारित कार्यालय समयमा नै कार्यालयमा उपस्थित भई आफूले गर्नुपर्ने कार्यसम्पादन गर्ने प्रतिवद्धतासमेत उनले जाहेर गरेका छन् ।
वडा सचिव पोखरेल बिर्तामोड नगरपालिकाको कार्यालय तानिएका छन् । उनको ठाउँमा नगरपालिकाका कर्मचारी हेम गौतम खटिएका छन् । वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहीमा असर परेको भन्दै वडाध्यक्ष प्रसाईले नगरपालिकाको कार्यालय अगाडी टेवल कुर्सी राखेर धर्ना दिएका थिए ।वडा सचिव पोखरेलले पेस गरेको स्पष्टीकरण यस प्रकार छ ।
श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू
श्री बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बिर्तामोड, झापा, कोशी प्रदेश, नेपाल ।
विषयः स्पष्टीकरण पेश गरेको सम्बन्धमा ।
महोदय,
बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय बिर्तामोड झापाको प.सं.२०८०÷०३÷३१ गतेको प्राप्त स्पष्टीकरण पेश गर्ने विषयको पत्र प्राप्त भई व्यहोरा अवगत भयो । उक्त सम्बन्धमा म वडा सचिव भई ५ नं. वडा कार्यालयमा कामकाज गरिरहँदा ५ नं. वडाका वडा अध्यक्षज्यूसँगको असमझदारीले समस्या उत्पन्न भएकोमा उक्त सम्बन्धमा आफ्नो भनाइहरु नम्रताका साथ निवेदन गर्दछु कि वडा सचिव वडा कार्यालयको प्रशासनिक प्रमुख रहने भएकोले कार्यालयको प्रशासनिक कामकाजबाहेक योजनासम्बन्धी अनुगमन, निरीक्षण, व्यक्तिगत घटना तथा पंजीकरणसम्बन्धी जाँचबुझका कामहरु सम्पादन गर्न फिल्डमा समेत रहनुपर्ने भएको तथा नगरपालिकामा प्रशासन, योजना, लेखा, पंजीकरणलगायतका विभिन्न शाखाहरुसम्बन्धी कार्यसम्पादन गर्न समेत नगरपालिकाको कार्यालयमा समय–समयमा आवतजावत गरिरहनु पर्ने एवं बैंकहरुसम्बन्धी काम, नगरपालिकाको स्वास्थ्य शाखाबाट संचालित कोभिड १९ लगायतका अन्य विभिन्न खोपसम्बन्धी कार्यक्रमहरुको अनुगमन, नगरपालिकामा हुने सचिवहरुसँगको मासिक बैठक तथा वडास्थित स्वास्थ्य केन्द्रको मासिक बैठकहरुमा सहभागी हुन जानुपर्ने भई कार्यालय बाहिर समेत रहेर कार्यसम्पादन गर्नुपर्ने परिस्थितिहरु रहने हुँदा इ–हाजिरीलाई मात्रै आधार मानेर मूल्यांकन गरी कार्वाही गर्दा माथि उल्लेख भएका कार्यालयबाहिर तथा फिल्डमा सम्पादित कार्यअवधिको मूल्यांकन एवं गणना नहुने व्यहोरा अनुरोध गर्दछु । माथि उल्लेखित विभिन्न कार्यालय तथा फिल्डमा कार्यसम्पादन गर्न जाँदा तत्क्षण कार्यालयमा वडा अध्यक्ष रहनु भएकोमा उहाँलाई जानकारी दिई तथा अन्य अवस्थामा कार्यालयमा रहेका प्रशासनिक तथा अन्य कर्मचारीहरुलाई जानकारी दिई कार्यालयमा खडा गरिएको कर्मचारी बहिर्गमन पुस्तिकामा समेत उल्लेख गरी गएको तथा फर्किआएको समय समेत उल्लेख गरी राख्ने गरेको व्यहोरा अनुरोध गर्दछु । यसरी कार्यालय बाहिर फिल्डमा जाँदा अज्ञानताबस कार्यालयको इ– हाजिरीमा समेत हाजिरी जनाई बाहिर जाने तथा उक्त कार्य सम्पादन भएपश्चात् कार्यालयमा फर्किआउने समय रहेमा पुनः चेक इन गरी कार्यालयको काम गर्ने गरेको र नेपाल सरकारबाट निर्धारित कार्यालय समय शुक्रबार बाहेकका दिनमा ५ः०० वजे तथा शुक्रबार ३ः०० बजे मात्र चेक आउट गर्ने गरेको व्यहोरा अनुरोध गर्न चाहन्छु । इ– हाजिरीमा दैनिक १ पटक आएको (चेक इन) तथा १ पटक गएको (चेक आउट) को विवरण मात्र देखिने व्यहोराको अनभिज्ञताबस भुल भई बीचमा माथि उल्लेखित फिल्डलगायत विभिन्न कार्यमा गएको अवधि नै चेक आउटको रुपमा कायम भएको देखिएको व्यहोरा अनुरोध गर्दछु । यसरी इ– हाजिरीमा चेक आउट चाँडै देखिए पनि म कार्यालयमा नेपाल सरकारबाट निर्धारित समयसम्म नै बस्ने गरेको व्यहोरा सनम्र निवेदन गर्दछु ।

महोदय, कार्यालयमा चेक इन हँुदा विभिन्न दिनहरुमा माथि उल्लेखित लगायत विविध कारणबश मबाट केहि ढिला भएको व्यहोरा स्वीकार गर्दै त्यसको लागि आत्मालोचनासहित क्षमा चाहन्छु । यस्तो कार्यहरुलाई आगामी दिनहरुमा हुन नदिई निर्धारित कार्यालय समयमा नै कार्यालयमा उपस्थित भई आफूले गर्नुपर्ने कार्यसम्पादन गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । समय पालना तथा नियमिततालाई प्रभावकारी रुपमा महत्व दिने व्यहोरा अवगत गराउन चाहन्छु । मेरो इ–हाजिरी तथा मेनुअल हाजिरी रेकर्डबाट म अनुपस्थित रहेको १४ दिन मेरो २०७९ सालमा पाकेको घर विदा तथा क्या. वि.एवं पर्व विदाबाट कट्टा हुने गरि विदा स्वीकृत गरिदिनु हुन श्रीमानसमक्ष यो निवेदन सादर अनुरोध गर्दछु ।
श्रीमानको जो आदेश ।
आज्ञाकारी
विमल पोखरेल
अधिकृत छैटौं
कोशी प्रदेश, नेपाल
बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय,
झापा

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्