झापा, साउन ६ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा र पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी दुवै झापा अर्जुनधाराका हुन् । नेपाली कांग्रेसलाई नेतृत्व दिँदै आएका दुवै जनाबीच लामो राजनीतिक सहकार्य रहेको थियो । तर, यतिबेला थापा र बुढाथोकी एक अर्काका कट्टर विरोधी देखिएका छन् ।

सभामुख बाबुराम गौतमको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थापाको विरुद्धमा कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य बुढाथोकीले अभिव्यक्ति दिएका थिए । बुढाथोकीले कोशी प्रदेशको मुख्यमन्त्रीमा थापाको नियुक्तिको वैधानिकतामा प्रश्न उठाएका थिए । उनले सभामुखको समर्थन लिएर मुख्यमन्त्री चयन हुनु संविधानको भावना अनुसार नभएको बताए ।

बुधबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोशी सरकारका विषयमा बैठकमा कुरा नउठेकामा आपत्ति जनाए । ‘प्रदेशमा सभामुखले उत्रेर गोल हान्न पाउँछ ? सभामुखले सही गरेर बहुमत पु¥याउन मिल्छ ?’ उनले भने, ‘अनि आज यो तमासा हामी कांग्रेसले टुलुटुलु हेर्ने, त्यो विषयमा छलफल नहुने ?’कांग्रेस संसदीय दलका नेता थापा, सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए । यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा थापा नेतृत्वको सरकारलाई दिर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।पार्टी बैठकमा यसलाई एजेण्डा नबनाएको र नेताहरुले पनि छलफल नगरेको भन्दै उनले असन्तुष्टि जनाए । ‘खै छलफल भा, खै त्यो इस्यु उठेको, के हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि यो गलत छ भन्नुपर्ने, कि यो संविधान अनुसार छैन भन्नुपर्ने ? के भन्नुपर्ने हामीले ?’ बुढाथोकीले सोधे ।
सभापति शेरबहादुर देउवासँगै महामन्त्रीहरु गगन थापा , विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्म आङदेम्बेलाई सम्बोधन गर्दै सोधे, ‘महामन्त्रीजी, सभापतिजी यत्तिका नेता अगाडि हुनुहुन्छ ? भीष्मजी तपाईँ हाम्रो पूर्वको नेता, हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि नमान्नुपर्ने ?’

बुढाथोकीले संविधान मस्यौदा समितिको संयोजक समेत रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई बैठकस्थलमा खोजी गरे । कोशी प्रदेशका मुख्यमन्त्री थापा, कांग्रेसमा सिटौलानिकट हुन् । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘खै पूर्व महामन्त्रीजी देख्दिन । संविधान बनाउँदा उहाँ नै हाम्रो अगुवा हुनुहुन्थ्यो, उहाँकै नेतृत्वमा हामीले संविधान प्रस्तुत गरेका थियौं ।’ बैठकमा बुढाथोकीले महामन्त्री विश्वप्रकाश शर्मासहित नेतृत्वको आलोचना गर्दै जिल्लामा भाँडभैलो चलिरहँदा पनि टुलुटुलु हेरेर बसेको आरोप लगाएका थिए ।

त्यसको भोलिपल्ट मुख्यमन्त्री थापाले कडा प्रतिवाद मात्र गरेनन् , बुढाथोकीलाई कार्वाही गर्न मागसमेत गरे ।
बुढाथोकीको जवाफमा बिहीबार पार्टीका प्रदेश अध्यक्ष रहेका मुख्यमन्त्री थापाले सभामुखले प्रदेशसभा सदस्यको हैसियतले सरकार गठनमा सहयोग गरेको जिकिर गर्दै आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्ने नेता विरोधमा उत्रिएकोले कार्वाही हुनुपर्ने माग गरे । ‘तपाईँले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, कांग्रेसको गठबन्धन दलले मुख्यमन्त्री मानेको उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ’ उनको आक्रोश थियो ।

मुख्यमन्त्री थापाले कार्यकर्तामा उत्साह जगाएको अवस्थामा नेताहरुले निराशा पैदा गर्न नहुने बताए। ‘कोशीमा कांग्रेसको सरकार बन्दा उत्साह आएको छ। गाउँ गाउँका कार्यकर्तामा उत्साहको लहर देखिएको छ’, उनले भने, ‘तर, हाम्रै नेता केशव बुढाथोकीले हिजो कोशीको सरकारविरुद्ध बोलेको सुनेँ। म अदालतमा जवाफ दिन गएको थिएँ तर यता हाम्रै नेताबाट आलोचना गर्ने काम भएछ ।’

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको आरोपसमेत थापाले लगाएका छन् । ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेऊ, हराऊ भनेर मेसेज गर्नुभएको छ,’ उनले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने नेतालाई कारबाही हुनुपर्दछ ।’

झापा ४ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित थेबे झापा जिल्ला सभापति समेत हुन् । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौलानिकट छन् भने बुढाथोकी संस्थापन पक्षका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्