झापा, साउन ९ । असार मसान्तभित्र छात्रवृत्तिको विवरण पेश गर्न बिर्तामोड नगरपालिकाले निर्देशन दिएपनि नगरका कतिपय विद्यालयले अझै पनि विवरण बुझाएका छैनन् ।

बिर्तामोड नगरपालिकामा ५८ वटा संस्थागत विद्यालय छन् । तीमध्ये ४२ वटाले छात्रबृत्ति वितरणको विवरण बुझाएको र बाँकी १६ वटाले नबुझाएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले असार ८ र १५ गते गरी दुईपटक छात्रवृत्तिको विवरण बुझाउन सूचना जारी गरेको थियो । तर, पनि कतिपय विद्यालयहरुले अटेर गरिरहेका छन् ।

सात दिने म्यादसहित भोलि अन्तिम सूचना प्रकाशित गर्न लागेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । ‘हामी भोलि ७ दिने म्यादसहितको अन्तिम सूचना निकाल्दै छौं ’ निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले भने,‘त्यसपछि जरिवानासहित दर्ता खारेजको प्रक्रिया अघि बढ्नेछ ।’ नगरका विद्यालयहरुलाई बारम्बार भन्दै आएपनि अटेर गरेर कतिपय विद्यालयहरुले अझै पनि छात्रवृत्ति विवरण नबुझाएको नगर प्याव्सनका अध्यक्ष उत्तम खनालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्