बिर्तामोड, साउन १४ । बिर्तासिटी हस्पिटलमा आइतवार एकैदिन डेंगीका ७ जना विरामी भर्ना भएका छन् । त्यहाँ लगातार डेंगीका विरामी आइरहेका छन् ।

त्यस्तै बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा एकजना डेंगीका विरामी उपचाररत छन् । डेंगी संक्रमित बिर्तामोड ५ का ४४ वर्षिय विछेन्द्र लावतीको अबस्था गंभीर बनेपछि उनलाई आइसियु भेन्टिलेटरमा भर्ना गरिएको हो । यसअघि गत बिहीवार बिर्तामोड ५ की एक महिलाको डेंगी संक्रमणबाट मृत्यु भइसकेको छ ।

सुनसरीको धरानमा डेंगीले महामारीको रुप लिइरहँदा बिर्तामोडमा पनि डेंगी भयावह रुपमा फैलिदै गएको छ । खासगरी साउन महिनायता बिर्तामोडमा डेंगी तीब्ररुपमा फैलिदै भएको हो । साउन १ देखि १४ गतेसम्म बिर्तामोडका विभिन्न अस्पतालहरुमा ८२ जनालाई डेंगी पुष्टि भएको छ । त्यसमध्ये दुई दर्जनजति डेंगी संक्रमित बिर्तामोडका अस्पतालमा उपचाररत छन् । बिर्तासिटी हस्पिटलमा साउन १४ गते मात्र ७ जना डेंगीका विरामी भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार बस्नेतले बताए । उनले साउन महिनायता ८ पुरुष र ६ महिला डेंगी पुष्टि भएर अस्पताल भर्ना भएको जानकारी दिए । सोही अस्पतालमा बाह्रदशी ५ की ललिता रसाइली र उनका नाबालक छोरा डेंगी भएर विगत ६ दिनदेखि उपचाररत छन् । आफूहरुकहाँ बाह्रदशी , शिवसताक्षी , कन्काई , इलाम , धरानलगायतका ठाउँका डेंगी विरामी भर्ना भएको डा. बस्नेतले बताए ।

त्यस्तै कन्काई हस्पिटलमा साउन महिनामा मात्र ३८ जनालाई डेंगी पुष्टि भएको छ । साउनमा ११९ जनाको रगत परीक्षण गरिएकोमा २२ पुरुष र १६ महिलालाई डेंगी पुष्टी भएको अस्पतालका अध्यक्ष युवराज डाँगीले बताए । उनले विगत ३–४ दिनदेखि ४–५ जनाको दरले डेंगीका विरामी आइरहेको जानकारी दिए ।

त्यस्तै मनमोहन हस्पिटलमा १३ जनालाई डेंगी पुष्टि भएकोमा ११ जना साउनयताका हुन् । १३ जनामध्ये १० जना बिर्तामोडका भएको मनमोहन हस्पिटलका प्रवन्ध निर्देशक रोमणि भट्टराईले बताए । उनले डेंगीका केही विरामी आफ्नो अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

त्यस्तै बिर्तामोड ५ का ४४ वर्षिय विछेन्द्र लावतीलाई डेंगी भएर स्वास्थ्य अवसथा गंभीर भएपछि बीएण्डसीको आइसियु भेन्टिलेटरमा राखिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले बीएण्डसीमा ४ जना डेंगीका विरामीले उपचार गराइरहेको जानकारी दिए । बीएण्डसीमा बिर्तामोडसंगै मेचीनगर , ताप्लेजुङ, तेह्रथुम , मोरङ,इलामलगायतका ठाउँका डेंगीका विरामी भर्ना भएका छन् ।

त्यस्तै बिर्तामोड नगर अस्पतालमा साउन महिनामा मात्र १० जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । नगर अस्पतालमा आएका विरामीको रगत परीक्षणका क्रममा साउन महिनामा मात्र ६ महिला र ४ पुरुषमा डेंगीको संक्रमण पुष्टि भएको अस्पतालकी ल्याव टेक्नोलोजिस्ट इशा राजवंशीले बताइन् । उनका अनुसार केही दिनदेखि लगातार डेंगीका विरामीहरु आउन थालेका छन् । यसअघि असारमा नगर अस्पतालमा ५ जनामा डेंगी पुष्टि भएको थियो ।

यस वर्ष जिल्लामै पहिलोपटक बिर्तामोडमा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।बिर्तामोड– ५ बस्ने ४४ वर्षिया मदिना खातुनको गत बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको हो । धरान डेंगीको इपिसेन्टर बनिरहँदा बिर्तामोडमा पनि त्यस किसिमको महामारी फैलिनसक्ने भन्दै नगरवासीहरु त्रसित देखिएका छन् । बिर्तामोड नगरपालिकाले डेंगी नियन्त्रणका लागि स्प्रे गर्नुपर्ने माग नगरवासीहरुको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्