बिर्तामोड, साउन १५ । बिर्तामोड ३ की पूर्व वडा सदस्य सृष्टी दाहालले गत वर्ष ४५ सय रुपैयाँ एकीकृत सम्पत्ति कर तिरेकोमा यस वर्ष बढेर १२ हजार ५ सय रुपैयाँ पुगेछ । एक वर्षमा एउटै घरजग्गाको कर तेब्बर बढेको हो ।

बिर्तामोड नगरपालिकाले यसरी अप्रत्यासित रुपमा कर बढाएपछि नगरवासीहरुले चर्को विरोध जनाएका छन् ।आफूले आर्थिक वर्ष २०७९÷०८० मा पाँचवटा कित्ताको जग्गा र घरको ४ हजार ५०० रुपैयाँ तिरेकोमा सोही घरजग्गाको यस वर्ष कर तिर्न जाँदा १२ हजार १५० रुपैयाँ लागेको उनले बताइन् । उनले गत वर्षको भन्दा ९ हजार रुपैयाँ बढी अर्थात २०० प्रतिशतले बढी कर तिर्नु परेको हो । बस्नेतजस्तै अन्य करदाताहरु पनि करबृद्धिको चर्को मारमा परेका छन् ।

२०७९–०८० मा तिरेको कर

२०८०–०८१ मा तिरेको कर

बिर्तामोड २ की पूजा शर्माले २०७९÷८० मा ४ हजार ५० रुपैयाँ तिरेकोमा उनले यस वर्ष १२ हजार १५० रुपैयाँ तिर्नुपर्यो । जुन ८ हजार १०० ले बढी अर्थात २०० प्रतिशतले बृद्धि हो । त्यस्तै वडा नं ५ का प्रेमलाल अग्रवालले २०७९÷८० मा २२ हजार ५०० रुपैयाँ तिरेकोमा यस वर्ष उनले २६ हजार १०० बढी ४६ हजार ८०० रुपैयाँ तिर्नु परेको छ । त्यस्तै वडा नं ५ कै रमेश चौधरीले २०७९÷ ०८० मा ५४ हजार तिरेकोमा यस वर्ष १ लाख ४० हजार २०५ रुपैयाँ , सोही वडाका उमेश चौधरीले २०७९÷ ०८० मा ५ हजार ४०० तिरेकोमा यस वर्ष १३ हजार ५००, वडा नं २ का कृष्णकुमारी बुढाथोकीले २०७९÷ ०८० मा २ हजार २५० तिरेकोमा यस वर्ष उनले ५ हजार ४६७ ,

वडा नं २ का सुशिल बुढाथोकीले २०७९÷ ०८० मा १ हजार ८० रुपैयाँ तिरेकोमा यस वर्ष ३ हजार ६४५रुपैयाँ तिर्नुपरेको छ । बिर्तामोड नगरपालिकाले अत्यधिक बढाएको करबृद्धिको बिषयमा नेकपा एमालेबाहेकका दलहरुले सोमवार ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश क सभापति लक्ष्मीप्रसाद आचार्य , कांग्रेसका बिर्तामोड नगर सभापति भोजराज सिटौला , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा , राप्रपाका बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेल , एकीकृत समाजवादीका बिर्तामोड अध्यक्ष श्रीप्रसाद सिटौला , राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शम्भु भण्डारीले हस्ताक्षर गरेका छन् । उनीहरुले सो ज्ञापनपत्र नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई बुझाएका छन् । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०÷ ०८१ का लागि लागू गरेको एकीकृत सम्पत्ति करको अस्वाभाविक वृद्धिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको स्थानीय राजनीतिक दलहरुले जनाएका छन् ।

कोरोना कहरपछि बल्लतल्ल तंग्रिएको जनजीवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बिकराल समस्याको रुपमा आएको आर्थिक मन्दीले जनजीविकाको हकमा हातमुख जोर्न समस्यामा रहेका बिर्तामोड नगरवासीलाई ३५ प्रतिशत कर वृद्धिको हवाला दिँदै ६० प्रतिशतदेखि ३०० प्रतिशत कर वृद्धि गरी असुलउपर गर्ने कार्यप्रति दलहरुले गम्भीर आपत्ति जनाएका छन् । यस वर्ष लागु गरिएको अवैज्ञानिक करलाई खारेज गरी ७ दिन भित्रमा साविक करलाई नबढ्ने गरी लागु गराउन उनीहरुको माग रहेको छ । ज्ञापनपत्र बुझाउँदै कांग्रेसका नगर सभापति सिटौलाले बिर्तामोड नगरपालिकाले जानेर ,नजानेर , भूलवश वा नियतवश गरेको करबृद्धि अव्यवहारिक भएको बताए । उनले त्यसलाई सच्याउन आग्रह गरेका छन् । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले केन्द्रबाट तोकेबमोजिमको कर उठाइएको प्रतिक्रिया दिइन् । उनले कुनै गल्ती कमजोरी भए सच्याएर जाने बताउँदै कृषियोग्य जमिनलाई आवासमा वर्गीकरण गर्दा स्वाभाविक रुपमा कर बढेको स्पष्ट पारिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्