भद्रपुर, साउन १५ । राष्ट्रसेवक सहिदहरु मनोज, झपेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सोमबार संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

भद्रपुर १० लेखनाथ चोकस्थित संगठनको कार्यालय रहेको मनोज झपेन्द्र स्मृति सामुदायिक भवन परिसरमा संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा १३ महिलासहित ८३ जनाले रक्तदान गरेको राष्ट्रसेवक सहकारी संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कोशी प्रदेशका प्रदेशसभा सदस्य छविलाल चुँडालले कार्यक्रमको उद्घाटन गरेका थिए । संगठनका सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि चुँडाल, नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, नेकपा एमाले जिल्ला कमिटी झापा सचिवालय सदस्य देवराज कार्की, डम्बर देउजालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापामा रगतको अभाव भइरहेको बेला संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रम चलिरहँदा त्यहीँबाट केही बिरामीका लागि रगत सम्बन्धित अस्पतालमा लगिएको थियो ।

उत्कृष्ट राष्ट्रसेवक तथा सञ्चारकर्मी पुरस्कार घोषणा
सहिदहरु मनोज, झपेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसकै अवसर पारेर यस वर्ष संगठनले उत्कृष्ट कर्मचारी तथा सुशासन पत्रकारिता पुरस्कारका लागि पुरस्कृत गर्न लागेको व्यक्तित्वहरुको नाम घोषणा गरेको छ ।
दोस्रो चरणमा आयोजना गरिएको कार्यक्रमका बीच पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको हो ।यस वर्ष स्व. प्रमोद तामाङ ंस्मृति सुशासन पत्रकारिता पुरस्कारबाट भद्रपुरमा सञ्चालनमा रहेको नागरिक एफएमका कार्यक्रम निर्देशक तथा आँखा डट कम अनलाइनका सम्पादक ईश्वर अधिकारीलाई पुरस्कृत गरिने घोषणा गरिएको थियो भने स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकामा कार्यरत सिनियर अनमि निरीक्षक टिकामाया दवाडीलाई पुरस्कृत गरिने घोषणा गरिएको थियो ।

छुट्टाछुट्टै छनोट समितिले सिफारिस गरेको आधारमा संगठनका अध्यक्ष पोखरेलले ती नाम घोषणा गरेका थिए । उत्कृष्ट राष्ट्रसेवक पुरस्कारको राशि जनही ११ हजार १११ र पत्रकारिता पुरस्कारको राशि ७ हजार ७७७ रुपैयाँ रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले जानकारी दिए ।
ती पुरस्कार आउँदो भदौ १५ गते कुशल संगठक स्व. प्रमोद तामाङको स्मृति दिवसका दिन प्रदान गरिने संगठन अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्