झापा, साउन १७ । मेची भन्सार कार्यालय काँकडभिट्टाले आफ्नो परिसरबाट बाहिरिएको कन्टेनरले भन्सार तिरेको दावी गरिरहँदा सो कन्टेनरले लाखौं राजश्व छलेको राजश्व अनुसन्धान कार्यालय इटहरीले पुष्टि गरेको छ ।

सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले जानकारी गराए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको हो ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कन्टेनरमा राजश्व तिरेको भन्दा बढी सामान भेटियो,’राजश्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले भने,‘भन्सार प्रज्ञापनपत्र तिरेको सामान जफत हुँदैन, त्यो भन्दा बढी भएको सबै सामान जफत गरेका छौँ ।’
प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँचनको झ्याली–झ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो बढी भेटिएको उनले बताए ।

राजश्वले जफत गरेका सामानवापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको उनले बताए । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको बताउँदै उनले भने, ‘राजश्वले अब थप छानबिनको प्रक्रिया अघि बढाउँछ ।’ भन्सारबाट बाहिरिएको कन्टेनरभित्र कसरी यतिका सामान बढी फेला पर्यो भन्ने विषयमा मेची भन्सारमाथि राजश्वले छानबिन गर्ने भएको छ । ‘छानबिनको क्रममा कर्मचारी दोषी देखिएमा विभागीय कारबाही हुन्छ,’उनले भने ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर– ६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्व कार्यालयमा बुझाएको थियो ।

मेची भन्सार परिसरबाट सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौं सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । कन्टेनरभित्र राजश्व तिरेको भन्दा बढी र फरक सामान फेला परेपछि एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मूल्य तोकेर आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्