झापा, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । मुख्यमन्त्री थापा मंगलबार पुनः नियुक्त भएका हुन् । आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाएका छन्‚ जसमा निवर्तमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनीसहित ३ मन्त्रीले बुधबार नै मन्त्री पदको शपथ लिएका छन् ।

आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगुले शपथ लिए । माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय अपुग भएको भन्दै बिहान १० बजेका लागि तोकिएको मुख्यमन्त्री र मन्त्रीको शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको थियो ।

सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेपछि माओवादी दलभित्र बढेको विवाद र कार्यविभाजनका लागि शपथ ग्रहण सारिएको थियो ।
मुख्यमन्त्री थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्