झापा, साउन १८ । भारतीय सीमावर्ती जिल्ला झापासहित देशका विभिन्न क्षेत्रमा आँखा पाक्ने रोग फैलिएको छ ।

भारतसँगको सीमावर्ती क्षेत्र मोरङ, धनुषा, सुनसरीलगायतका जिल्लामा देखिएको आँखा पाक्ने रोग ताप्लेजुङ , काठमाडौं उपत्यकामा समेत फैलिएको छ ।

झापाका अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित भएको पाइएको छ ।
मेची आँखा अस्पताल बिर्तामोडका नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताए ।
बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले आफ्नो अस्पतालमा दैनिक आउने ६ सय बिरामीमध्ये तीन सय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिए ।
मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताए । काँकडभिट्टा आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बिएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका संक्रमितहरुको भीड लाग्ने गरेको पाइएको छ ।

चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।

पछिल्लो समय काठमाडौंको कीर्तिपुर आँखा अस्पतालको बहिरंग विभागमा कुल बिरामीमध्ये सरदर २० देखि ३० प्रतिशत आँखाको संक्रमण समस्या लिएर पुग्ने गरेका छन् । ‘पछिल्लो समय भारत र त्यसपछि सीमावर्ती नेपाली क्षेत्रमा देखिएको आँखाको संक्रमण हाल राजधानीमा समेत देखिएको छ,’ कीर्तिपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. एरिक वैद्यले भने ।
तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्रा.डा. रोहित सैंजूले केही समययता दैनिक ६० देखि ७५ जना आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताए । जनकपुरस्थित जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. अमित यादव र विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रक्षा पन्तका अनुसार सहरी र ग्रामीण क्षेत्रका बालबालिकामा यो संक्रमण बढी देखिएको छ । डा. पन्तका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानु आवश्यक रहेको उनले बताइन् ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनुहुँदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्