झापा , साउन १८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सपथ ग्रहण गरेलगत्तै प्रजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको शालिकमा माल्यार्पण गरेका छन् ।

पुष्पलाल श्रेष्ठ कम्युनिष्ट पार्टीको सूत्रधार तथा जन्मदाता हुन् भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तिका लागि राणाविरुद्ध आन्दोलन गर्ने कमान्डर हुन् । कृष्णप्रसाद वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी पनि हुन् ।
वुधवार साँझ ५ बजे प्रदेश प्रमुख कार्यालय विराटनगरमा सपथ ग्रहण कार्यक्रम सकिएलगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको मूर्तिमा फुलमाला लगाइदिएर माल्यार्पण गरेका हुन् ।

कोशी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले प्रजातान्त्रिक आन्दोलनका दुवै नेतालाई स्मरण गरेका हुन् । प्रजातन्त्र ल्याउन दुवैको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै थापाले भने, ‘हाम्रो लागि दुवै नेताप्रति उच्च सम्मान र सद्भाव छ ।’

मुख्यमन्त्री थापासहित गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका बाबुराम गौतम , कांग्रेसबाट सिंचाई ऊर्जामन्त्री बनेका प्रदिप सुनुवार र नेकपा एसबाट भौतिक पूर्वाधार मन्त्री बनेका कमल जवेगुले पनि दुवै नेताको मूर्तिमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्