बिर्तामोड, साउन २० । बिर्तामोडमा डेंगी संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसहित साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोडमा दुईजनाको मृत्यु भइसकेको छ ।

फोटो मनोज लिम्बूको फेसबुकबाट

हिजो साँझ डेंगी संक्रमणबाट बिर्तामोड ५ का ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको केही दिनदेखि बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो । दुई दिनअघि लावतीलाई परिवारले अस्पतालबाट घर लिएर गएका थिए । घरमै उनको मृत्यु भएको जनाइएको छ ।

यसअघि साउनको पहिलो साता बिर्तामोड– ५ कै ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।

बिर्तामोडका अस्पतालहरुमा डेंगीका विरामीहरु भरिन थालेका छन् । बिर्तामोडका अस्पतालहरुमा परीक्षण गराएका र भर्ना भएका संक्रमितहरुको बारेमा स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिकाले सही तथ्यांक निकाल्न सकिरहेका छैनन् । दुई दिनअघि स्वास्थ्य कार्यालय झापाले जिल्लामा २३८ जना डेंगी संक्रमित पुगेको तथ्यांक निकालेको थियो । तर, बिर्तामोडकै अस्पतालहरुमा सयभन्दा बढी डेंगी संक्रमित पुगिसकेका छन् ।साउनको पहिलो साता मृत्यु भएकी बिर्तामोड ५ की महिलाको बारेमा समेत स्वास्थ्य कार्यालयले अझै रेकर्ड राखेको छैन ।यसबाट डेंगी संक्रमितको रिपोर्ट लुकाउन खोजेको पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्