झापामा ४ सय ५४ जनामा संक्रमित देखिएका छन् । 

झापा, साउन २२ । कोशी प्रदेशमा डेंगी रोगको संक्रमणबाट १२ जिल्ला प्रभावित बनेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगाबाहेक सबैमा संक्रमित देखिएका छन् । आइतबारसम्म प्रदेशभर ६ हजार ४ सय ६४ जना संक्रमित पाइएका छन् । सबैभन्दा बढी सुनसरीमा ४ हजार ५ सय ५८ र सबैभन्दा कम खोटाङमा ४ जना रहेको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवेचना चौलागाँईले बताए । मोरङमा ९ सय १८, झापामा ४ सय ५४, उदयपुरमा १ सय ६१, धनकुटामा १ सय ८ संक्रमित छन् । अघिल्लो महिनासम्म सुनसरी, मोरङ, झापा र संखुवासभामा सीमित संक्रमण दुई सातायता अन्य जिल्लामा फैलिएको हो । चौलागाँईका अनुसार भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथुममा ५८, इलाममा २५, ताप्लेजुङमा ११ र पाँचथरमा ५ संक्रमित छन् । संक्रमणबाट अत्यधिक प्रभावित सुनसरीको धरानमा स्वास्थ्य मन्त्रालय तथा प्रदेशबाट विशेषज्ञ टोलीसहित डेंगी रोगथाम तथा उपचार केन्द्र स्थापना गरिएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । २०७६ मा प्रदेशका ११ जिल्लामा डेंगी महामारीका रुपमा फैलिँदा पाँच हजारजना बढी प्रभावित भएका थिए । त्यसपछि छुटपुट बिरामी देखिए पनि यस वर्ष सुनसरीमा व्यापक फैलिएकाले सजकता अपनाउन निर्देशनालयले सुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्