झापा , साउन २२ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् ।

राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उनले यसको लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा सोमबार बोल्दै थापाले भने, “सरकारले अझै पूर्णता प्राप्त गरेको छैन । त्यसैले हामी कामचलाउ अवस्थामै काम गरिरहेका छौँ ।” थापाले प्रदेश सरकार जनताको सेवामा दत्तचित्त भएर कार्य गर्न अग्रसर रहेको सुनाए । प्रदेशमा विपद जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी रहेको भन्दै उनले स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने बताए । “सरकारले त्यसमा ध्यान दिएको छ । बाढी पहिरो जस्ता समस्यासँग जुध्न अझै धेरै काम हुनुपर्छ,” उनले भने ।

डेंगुको संक्रमण बढेसँगै आएको विपद्को लागि विभिन्न स्थानमा यसअघि सञ्चालित कोभिड अस्पतालमार्फत सेवा दिने तयारी थालिएको उनले बताए । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र संचालनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझाले चाबी बुझेका छन् । आन्तरिक मामिला मन्त्रालयका सचिव सुरेश राउतले अत्यावश्यक केन्द्रले १४ जिल्लामा सेवा प्रदान गर्ने सरकारको योजनाअनुरुप सहयोगका कार्य अघि बढाइएको जानकारी दिए । हालसम्म १६ ठाउँमा दमकल वितरण गरिएको राउतले बताए । फुङलिङलाई हस्तान्तरण गरिएको दमकल रु ७३ लाख ७५ हजार र पिकअप ३७ लाखमा खरिद गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्