झापा, साउन २२ । अन्त्येष्टिका लागि कन्काई माईमा लगिएको एक महिलाको शव प्रहरीले अन्त्येष्टि गर्न रोकेको छ ।

स्थानीयले मौखिक उजुरी दिएपछि प्रहरीले कनकाई नगरपालिका ३ सुरुङ्गाकी ३२ बर्षिया पुजा कोचकारको शव अन्त्येष्टि गर्न नदिई पोस्टमार्टमका लागि लिएर गएको छ । उपचारका क्रममा पूजाको आज कञ्चनजंघा अस्पताल बिर्तामोडमा निधन भएको थियो । घरमा झगडा परिरहने भएकाले श्रीमान र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमती पुजाको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेसंगै इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले मृतकको शवलाई जलाउन नदिई पोस्टमार्टमका लागि लिएर गएको हो ।स्थानीयको मौखिक उजुरीपछि शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

कञ्चनजंघा अस्पताल बिर्तामोडका डाक्टर प्रमोदकुमार शाहले उपचारका लागि लगिएकी पुजाको कलेजोमा समस्या देखिएर अन्तिम अवस्थामा ल्याएको र सोही कारण उपचारका क्रममा मृत्यु भएको बताए ।आफूले पनि चिकित्सकसंग बुझ्दा मृतक पुजाको कलेजोमा समस्या भएर मृत्यु भएको बताएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।उनले मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको बताए ।

शिवसताक्षी ९ घर भई कनकाई नगरपालिका ३ मा भाडामा बस्दै आएका पुजाका श्रीमान ५० बर्षिय चोपेन्द्र कोचकार घर निर्माणको ठेक्कापट्टा गर्दै आएका छन् । उनका दुई श्रीमतीमध्ये मृतक पुजा कान्छी श्रीमती हुन् । उनीहरुका एक १० बर्षिय छोरा रहेका छन् । पुजाको माइत भारतको नागाल्यान्ड भएको बुझिएको छ । यसअघि श्रीमान– श्रीमतीबीच मादक पदार्थ सेवन गरेर झगडा हुने गरेको भएपनि यसपटक भने विरामी भएरै उपचारका लागि लगिएको स्थानीयको भनाई छ । घटनावारे प्रहरीले अनुसन्धान थालेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युबारे स्पष्ट हुने कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्