शनिश्चरे, साउन २२ । झापाको अर्जुनधारा नगरपालिकामा सोमबारदेखि पशुमा फैलिएको लम्पी स्किन रोगका विरुद्ध खोप लगाउन सुरु गरिएको छ ।

सहुलियत दरमै किसानका पशुलाई खोप लगाउन थालिएको हो । सोमवार बिहान अर्जुनधारा ९ को टोल नम्बर १ मा नगर प्रमुख बलदेवसिंह गोम्देनले पशुलाई लगाइने खोपलगायतका सामग्री प्राविधिकलाई हस्तान्तरण गर्दै सुरुवात गरे भने प्राविधिकले स्थानीय प्रकाश नेपालले पालेका गाईलाई खोप लगाउँदै खोप कार्यक्रम सुरु गरिएको हो । कृषकलाई लम्पी स्किनबाट आर्थिक क्षति हुन नदिनका लागि नगरले खोप अभियान सञ्चालन गरेको नगर प्रमुख गोम्देनले बताए । उनले कृषकको आर्थिक समृद्धिका लागि नगर सहकार्य गर्दै यस्ता विपदमा सहयोग गर्दै जाने बताए ।

अर्जुनधाराका २५ हजारभन्दा बढी गाईलाई खोप लगाउने तयारी गरिएको पशुपंछी विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिकाका ११ वटै वडामा २२ दिनसम्म खोप सञ्चालन हुनेछ । लम्पी स्किनविरुद्धको खोप लगाउन किसानबाट ५० रुपैयाँमात्र लिने व्यवस्था गरिएको आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले बताइन् । खोपको मूल्य १५० मध्ये नगरपालिकाले १ सय रुपैयाँ व्यहोर्ने उनको भनाइ छ । शाखा प्रमुख राईका अनुसार अर्जुनधारामा लगाइँदै गरेको खोप नेपाल सरकारबाट स्वीकृत तान्जानियामा हेस्टर कम्पनीले उत्पादन गरेको नेत्थलिन खोप हो । खोप लगाउनका लागि ५ समूहमा २३ जना प्राविधिक परिचालित छन् ।

अर्जुनधारा ९ का वडाध्यक्ष भिष्म मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा लम्पी स्किन रोग उपचारबाट सम्भव नहुने भन्दै शाखा प्रमुख राईले रोकथाम नै उत्तम उपाय भएको सुनाए । अर्जुनधारामा यस रोगबाट १० वटा पशु मरेका छन् भने करिब २ सय पशु प्रभावित भएको राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्