झापा, साउन २३ । मकवानपुरको सिक्रे दोभानमा पहिरोले घरसहित एकै परिवारका ७ जनालाई पुर्दा एकको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।


काभ्रे जिल्लाको खानीखोला गाउँपालिका-५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका-५ स्थित सिक्रेदोभानमा बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनकी श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो।
खानीखोला गाउँपालिकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएकी सञ्चमायालाई बागमती-५ स्थित भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए।

पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर बागमती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, शिलाका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वडा अध्यक्ष स्याङ्तानले आफूसहित ताल्ढुंगा प्रहरी चौकीको टोली घटनास्थलतर्फ गइरहेको र मकवानपुरको बागमती गाउँपालिका भोर्लेनीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटिरहेको जानकारी दिए। दुई दिनदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्