झापा , साउन २३ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघमा सभापति शेरबहादुर देउवाले थप ७१० जनालाई मनोनित गरेका हुन् । त्यसमा झापाका १३जना परेका छन् । झापाबाट मनोनित हुनेहरुमा भुवन बुढाथोकी , मिलन बस्नेत , सौरभ सिटौला , नारायण नेपाल , भरतकुमार गणेश , रविन्द्र ढुंगाना , किरण भण्डारी , भुवन खतिवडा , भुपेन्द्र सिंह थेवे , दिलिपबाबु शिव , संजय राई , अतित राई र किशोर ढुंगाना रहेका छन् । यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि बल्ल केन्द्रीय समिति पाएका छन् । महाधिवेशनको सट्टा मनोनित गर्ने परम्परा बस्दा नेताहरुबीच आफूनिकटका कार्यकर्तालाई पुरस्कार दिएर भ्रातृसंस्थामा भीड जम्मा गर्ने प्रतिस्पर्धा चलेको छ । सभापति देउवाले नेता शेखर कोइरालासहित पार्टीका नेताहरुले नाम दिएका आधारमा ७७ वटै जिल्लाबाट ७१० जनालाई मनोनित गरेका हुन् । अब नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनेको छ । नेविसंघमा मनोनयन गर्न ढिलासुस्ती भएको भन्दै यसअघि बसेको केन्द्रीय कार्यसमितिमा विरोध भएको थियो । बैठकले सभापति देउवालाई भदौसम्ममा भ्रातृ संस्थाहरुलाई पूणर्ता दिन जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्