झापा , साउन २३ ।भीडभाड हुने सार्वजनिक स्थल वा कार्यालयमा सुत्केरी महिलाका लागि स्तनपान गराउन छुट्टै कोठाको व्यवस्था गरिनुपर्ने कार्यविधि जारी भएको चार वर्ष भइसक्यो । तर, एकाध ठाउँबाहेक कही पनि त्यस्तो व्यवस्था छैन ।

फाइल तस्वीर

जसका कारण महिलाहरु खुल्ला ठाउँमा नै आफ्ना बच्चालाई स्तनपान गराउन बाध्य छन् । पुरुषहरुका कारण महिलाहरुले असहजता महसुस गर्दै आएका छन् किनकि महिलाले बच्चालाई स्तनपान गराउँदा पुरुषहरु गलत नजरले हेर्ने गर्छन् ।

सुरक्षित ब्रेस्ट फिडिङ अर्थात स्तनपान गराउन महिलाहरुका लागि कसैले वास्ता नगरेको स्त्रीरोग विशेषज्ञ ममता घिरैया गुनासो गर्छिन् । आफ्नो बच्चाको स्वास्थ्यका लागि आमाले हरेक दुई–दुई घण्टामा स्तनपान गराउनु पर्छ । स्तनपान गराउने ठाउँ र समयको व्यवस्था नगरिँदा कामकाजी र बाहिर हिड्ने महिलालाई निकै समस्या परिरहेको उनले बताइन् । केही दिनअघि बिर्तामोडको सिटी सेन्टरमा एकजना महिलाले खुल्ला ठाउँमा बच्चालाई स्तनपान गराउँदा पुरुषहरुले गलत दृष्टिकोणले हेरिरहँदा आफूलाई अप्ठ्यारो लागेको सुनाउँदै उनले पश्चिमा मुलुकजस्तो नेपाली समाजमा फराकिलो सोच बन्न नसकेको धारणा राखिन् ।अस्पताल , मार्केट , एयरपोर्ट , कार्यालय, बस स्टेन्डजस्ता सार्वजनिक ठाउँहरुमा स्तनपानको लागि कोठाको व्यवस्था हुनैपर्ने उनको जोड छ ।

बिर्तामोड नगरपालिकाकी अस्पताल नर्सिङ निरीक्षक संगीता अधिकारीले बिर्तामोड नगर अस्पतालमा स्तनपान कक्षको व्यवस्था गरिएको बताइन् । उनले सेवाग्राही र कर्मचारीहरुका लागि सो स्तनपान कक्ष निकै उपयोगी रहेको बताइन् । बिर्तामोड नगरपालिका कार्यालयमा भने आफूहरुले स्तनपान कक्षका लागि गत वर्षदेखि नै माग गर्दै आएको उनले सुनाइन् । खुल्ला ठाउँमा महिलाले स्तनपान गराउँदा असहजता महसुस गर्नुपरिरहेको आफ्नो पनि अनुभव रहेको उनको भनाइ छ ।

बिर्तामोड नगर अस्पतालको स्तनपान कक्ष

बिर्तामोड नगर अस्पतालमा करिव एक लाख रुपैयाँको लागतमा स्तनपान कक्ष निर्माण गरिएको हो । नेपालमा पनि अगस्ट १ देखि ७ सम्म विविध कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाइएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चिततता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यस वर्षको स्तनपान सपताहको नारा रहेको थियो । कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण बनाइदिनु सम्बन्धित सबैको जिम्मेवारी रहेको छ ।

संयुक्त राष्ट्रसंघले विश्वका सबै देशहरुलाई कार्यस्थलमा महिलाहरुलाई आफ्ना बच्चालाई स्तनपान गराउनका लागि बढावा दिन अपिल गरेको छ । कामकाजी महिलाहरुको स्तनपानको दर बढाउनका लागि राष्ट्रसंघले वर्षेनि अभियान संचालन गर्दै आएको छ । राष्ट्रसंघले महिलाहरुलाई सुत्केरी विदा दिन , कार्यस्थलमा काम गर्नेक्रममा स्तनपान गराउन ब्रेक दिन , स्तनपान गराउन सुरक्षित कोठाको व्यवस्था गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्