झापा, साउन २४ । सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ । कैलालीमा ५ सय परिवार डुबानमा परेका छन् ।

भीमदत्त राजमार्गको दुई सय मिटर सडक भासिँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट तराईसँगको यातायात ठप्प भएको छ ।
सर्लाहीस्थित वाग्मती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो । कमला नदीमा आएको बाढीमा दाउरा टिप्न गएका श्रीमान्–श्रीमती अझै बेपत्ता छन् । वाग्मती नदीमा फसेका दुई जनाको उद्घार गरिएको छ । मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने वाग्मती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ ।

यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो । सोमबार राति घरपरिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको थियो ।
धनुषाको बसही खोलाको बाढीले मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विक्रम साहले बताए । कमला नदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका छन् ।

मंगलबार अपराह्नसम्म वर्षा नरोकिँदा मधेसका अधिकांश नदी–खोलाको बहाव खतराको सतह पार गरेको हो । धनकौल गाउँपालिका–१ स्थित वाग्मती नदीको बाढीले तटबन्ध पार गरेर एकादशी खोलामा मिसिएपछि गाईभैंसी चराउन र खेतबारी गएका बेला फसेका ६० जनाको साँझ उद्धार गरिएको छ । उनीहरूमध्ये २० जनालाई सर्लाहीतर्फ र ४० जनालाई रौतहटतर्फ लगेर सुरक्षित स्थानमा राखिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

मुसलधारे वर्षासँगै खसेको पहिरोले मकवानपुरको वाग्मती गाउँपालिका–५ सिक्रे दोभानमा घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने परिवारका ५ जना बेपत्ता छन् । पाहुना आएका एक जना घाइते भएका छन् । मंगलबार बिहान ४ बजेतिर सिक्रे दोभानका अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा घाइते भएकी ५५ वर्षीया शान्तिमायाको उपचारका क्रममा मृत्यु भएको हो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षीया शिला, छोरा २५ वर्षीय जीवन, नाति ४ वर्षीय मिलन र डेढ वर्षीया नातिनी दिव्या बेपत्ता छन् ।
सोही पहिरोमा पुरिएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । सिन्धुली हरिहरपुर—१ घर भएका घिसिङ अक्कलबहादुरको घरमा सोमबार पाहुना लाग्न आएका थिए । घिसिङलाई पहिरोले बगाएको घरभन्दा करिब तीन किलोमिटर तल वाग्मती खोला किनार बगेरीमा फेला पारेको स्थानीय शेरबहादुर माझीले बताए । ‘

सिन्धुलीको कमलामाई नगरपालिका–१ मझिनदमारमा पनि पहिरोले एक घर पुरिएको छ । उत्तम नेपालीको घर पुरिँदा भागेर जोगिएका उनकी श्रीमती सम्झना, सासु सेतमाया र भाइ रवि अहिले छिमेकी कहाँ बसेको वडाध्यक्ष नरेश गोलेले जनाए । लगातारको वर्षापछि ठाउँठाउँमा खसेको पहिरो र खहरेमा आएको बाढीले बीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्ग दिनभर अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्