बिर्तामोड, साउन २५। श्रीमान बैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका बेला तीन छोरालाई छोडेर एक महिला नौ दिनदेखि बेपत्ता भएकी छिन् ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० स्थित कालिस्थान घर भएकी २६ बर्षिया कविता राजवंशी नौ दिनदेखि बेपत्ता भएकी हुन् ।गत साउन १७ गते बिर्तामोड कपडा किन्न जाने भनेर हिडेकी कबिता घर नफर्किएपछि परिवारले बैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि बहराइन पुगेका श्रीमान ३० बर्षिय सुरेश राजवंशीलाई खबर गरेका थिए । मंगलबार घर आइपुगेका सुरेशले भौतारिदै श्रीमतीको खोजी गरिरहेका छन् । तर, श्रीमतीको कुनै अत्तोपत्तो लागेको छैन ।
कविताका परिवारले उनी बेपत्ता भएपछि खोजी गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोड, अर्जुनधारा–११ स्थित गोलधाप प्रहरी चौकी, काँकरभिट्टास्थित माइती नेपाल र भारतको सिलगुडीस्थित एक गैरसरकारी संस्थामा निवेदनसमेत दिएको सुरेशका ठूलोबुबा खगेन्द्र राजवंशीले बताए ।

९ जनाको परिवार रहेको घरमा कसैसंग पनि विवाद नभएको र श्रीमानलाई बिदेश पठाउँदा चलाएको ऋण एकलाख १४ हजार रुपैयाँ हिड्नुभन्दा अघिल्लो दिन (मंगलबार) कविता आफैले तिरेको ठूलोबुबा खगेन्द्रले जानकारी दिए । उनका अनुसार कविताका साथमा आधा तोला सुन र २५÷३० हजार जति रुपैयाँ मात्र थियो ।
एक बर्ष दुबई बसेर आएका सुरेश घरमै रहेर मिस्त्री काम गरिरहँदा श्रीमतीकै सल्लाह अनुसार आठ महिनाअघि बैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए । उनका अनुसार बिर्तामोड–५ जात्रुवाडी माइती रहेकी कविताको बारेमा माइती पक्षलाई पनि केही थाहा छैन । माइती पक्षले पनि कविताको खोजी गरिरहेको छ । सुरेश र कविताका कक्षा ५ मा अध्ययनरत १२ बर्षिय एक र ५ बर्षका जुम्ल्याहा २ जना एलकेजीमा अध्ययनरत छोरा रहेको बताइएको छ । श्रीमान सुरेशले कहीँकतै कवितालाई कसैले देखेभेटे नजिकैको प्रहरी कार्यालयका खवर गरिदिन आग्रह गरेका छन् ।