झापा , साउन २६ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका सातजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले बताए । यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो । बिहीबार पक्राउ पर्नेमा मोरङ-३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा-८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको थियो । अपरेशनको कमान्ड डिएसपी डा.तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको एआईजी बज्राचार्यले जानकारी दिइन् । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्