झापा , साउन २६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी-२० महिला विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिता खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा सीता रानामगर, ईन्दू बर्मा, विन्दू रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुसी डङ्गोल रहेका छन् । रुबी पोदार, खुसी डङ्गोल र पूजा महतो पहिलो पटक राष्ट्रिय महिला टोलीमा परेका हुन् । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदै छ । विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ । एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रको छनोटमा सहभागी अधिकांश टोली नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालले यसअघि पनि विभिन्न प्रतियोगितामा यी प्रतिद्वन्द्वीलाई हराइसकेको छ । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली ग्लोबल क्वालिफायर (विश्वस्तरिय छनोट प्रतियोगिता) मा प्रवेश गर्नेछन् ।

विश्वस्तरिय छनोट प्रतियोगिता भने सन् २०२४ मा हुनेछ । विश्वस्तरिय छनोट प्रतियोगितामा दुई बलिया टोली श्रीलङ्का र आयरल्यान्डका अतिरिक्त विभिन्न महादेशबाट छनोट भएर आएका टोलीहरूको सहभागिता रहने छ । विश्वस्तरिय छनोट प्रतियोगितामा एसियाबाट छनोट भएका दुई, अफ्रिकाबाट छनोट भएका दुई, युरोपबाट छनोट भएका , दुई अमेरिकाबाट छनोट भएको र एक इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएको एक टोलीले सहभागिता जनाउने छन् । विश्वस्तरिय छनोट प्रतियोगिताबाट दुई टोली महिला टी-२० विश्वकपमा छनोट हुनेछन् । महिला विश्वकप क्रिकेट सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदै छ । महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ । हालसम्म महिला विश्वकपमा सहभागी हुने ६ टोलीको टुङ्गो लागिसकेको छ । ती ६ टोलीमा अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज रहेका छन् । विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी क्यानले भारतकी देविका दिलिप पालशिकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । ४४ वर्षीय पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रूपमा जोडिएकी हुन् । नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रूपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुन् । भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी थिइन् । उनी पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । ब्याटिङ प्रशिक्षकका रूपमा पालशिकरको संलग्नताले नेपाली खेलाडीको क्षमता अभिवृद्धिमा मद्दत पुग्ने विश्वकप क्यानले लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्