झापा, साउन २६ । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ ।

केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्। जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो। जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन् । बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ । साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या पनि दैनिक बढ्दो दरमा रहेको छ । दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ ।

साउदी अरबस्थित दूतावासमा आउने उजुरीमध्ये सबैभन्दा धेरै पारिश्रमिक नदिएको छ भने कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र (अकामा) उपलब्ध नगराउने, आपतकालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने उजुरी परेको छ । साउदीमा बिना जानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुनअनुसार कामदारले पाउने सेवा सुविधाबाट बञ्चित रहने छन् । जबसम्म सम्बन्धित कम्पनीले भागेका कामदारमाथि एक्जिट लगाउँदैन तबसम्म स्वदेश फिर्ता हुन पाउँदैनन् । एक्जिट लगाएको २ महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियम अनुसार १-२-३ हजार जरिवाना थपिँदै जान्छ। साउदीमा रक्सी ओसारपसार कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनःसाउदी अरेबिया फर्कन नसक्ने गरी बन्देजसमेत गरिन्छ भने लागुऔषधमा पनि साउदीमा कडा नियम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्